२०८३ साउन ९ शनिबार

तयारी पोसाक उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने

ई आर्थिक    मंगलबार, साउन ५ २०८३
342
Shares
तयारी पोसाक उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र प्रवर्द्धनमा सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा उहाँले उद्योगको विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि सरकारले आवश्यक सबै प्रकारको सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

छलफलका क्रममा उद्योगी व्यवसायीको मागअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठनको प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभयो। काउन्सिल गठनबाट स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाकको उत्पादन तथा निर्यात प्रवर्द्धन र आयात व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरिएको छ।

प्रधानमन्त्री शाहले निजी क्षेत्रका रुग्ण तयारी पोसाक उद्योगलाई पुनः सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिनुभएको छ। साथै, निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआई) भित्र्याउन आवश्यक पहल गर्ने तथा अमेरिकामा नेपाली तयारी पोसाक निर्यातमा देखिएका ‘टेस्टिङ सर्टिफिकेसन’ सम्बन्धी अवरोध हटाउन परराष्ट्र मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ।

उहाँले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ अवधारणालाई सफल बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

ग्रिन गार्मेन्ट भिलेज निर्माणका लागि सरकारको नीति तथा कार्यक्रममा व्यवस्था भए पनि बजेट विनियोजन नभएको उद्योगीको गुनासोलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उपयुक्त स्थान पहिचान गर्न आग्रह गर्नुभयो। आवश्यक बजेट उपलब्ध गराउन सरकार सकारात्मक रहेको उहाँको भनाइ थियो।

नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा रूपान्तरण गर्न तयारी पोसाक उद्योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस क्षेत्रका सबै समस्या समाधानका लागि सरकार लागिपर्ने र आवश्यक कच्चा पदार्थसमेत स्वदेशमै उत्पादन गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो।

छलफलमा नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij