२०८३ साउन १२ मंगलबार

२३ जिल्लामा राति सवारी आवागमन रोक लगाउन निर्देशन

ई आर्थिक    आइतबार, साउन ३ २०८३
323
Shares
२३ जिल्लामा राति सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी र भारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आजको बैठकले ती जिल्लामा परिस्थितिअनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न र अन्य जिल्लामा समेत उच्च सतर्कताका लागि अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। जल तथा मौसम विज्ञान विभागबाट जारी बुलेटिनअनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एकदुई स्थानमा अतिभारी वर्षाको सम्भावना छ।

त्यसैगरी, देशका हिमाली, पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईको एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । प्राधिकरणले पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा प्रतिकार्य गर्नुपर्ने सम्भावनाको पूर्वानुमान गरेको छ । बैठकले ती जिल्लाका जिल्ला सुरक्षा समिति र स्थानीय तहलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

बैठकले भारीदेखि अतिभारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न सडक विभाग र अन्य सम्बद्ध निकायलाई अनुरोध गरिएको छ। पूर्वसूचना, चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलाई आग्रह गरिएको छ ।

आवश्यकताअनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग, सहकार्य र साझेदारी गर्न विकास साझेदार सङ्घसंस्था, नागरिक समाज, सञ्चार जगत्, निजी क्षेत्र, नागरिकलगायत सम्पूर्णलाई अनुरोध गर्ने र आपतकालीन गोदामघरलाई आवश्यक परेमा तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखेर व्यवस्था मिलाउने बैठकको निर्णय छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij