काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै सिंहदरबारभित्रै आन्दोलन सुरु भएको छ।
अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले मंगलबार धर्ना तथा नाराजुलुस गरेका हुन्। करार सेवामा लामो समयदेखि कार्यरत कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर आलोचना भइरहेका बेला प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै कर्मचारी आन्दोलन देखिएको हो।
आन्दोलनरत कर्मचारीहरूले करार सेवामा रहेका हजारौँ कर्मचारीलाई हटाउने निर्णयले उनीहरूको जीविकोपार्जनमा असर पर्ने बताएका छन्। उनीहरूले सरकारलाई निर्णय पुनर्विचार गरी करार कर्मचारीको व्यवस्थापनका लागि उचित कदम चाल्न आग्रह गरेका छन्।