काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो एघार महिना (२०८३ जेठ मसान्त) सम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशत (३ खर्ब ४० अर्ब ५७ करोड रुपैयाँ) ले वृद्धि भई ५८ खर्ब ३८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ८ प्रतिशत (४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ) ले बढेको थियो।
वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रतर्फको कर्जा वृद्धि ६.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
२०८३ जेठ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये ६२.६ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्र र ३७.४ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा गएको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः ६३ प्रतिशत र ३७ प्रतिशत रहेका थिए।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशत, विकास बैंकहरूको ५.६ प्रतिशत र वित्त कम्पनीहरूको ३.९ प्रतिशत ले वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कुल कर्जामध्ये ६३.६ प्रतिशत घरजग्गा धितो र १४.७ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा प्रवाहित भएको छ। अघिल्लो वर्ष घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६५ प्रतिशत र चालु सम्पत्तिको सुरक्षणमा आधारित कर्जाको हिस्सा १४.५ प्रतिशत रहेको थियो।
क्षेत्रगत रूपमा हेर्दा समीक्षा अवधिमा निर्माण क्षेत्रमा प्रवाहित कर्जा १५.१ प्रतिशत ले वृद्धि भएको छ। त्यसपछि उपभोग्य क्षेत्रमा १३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा १२.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ६.८ प्रतिशत, सेवा उद्योग क्षेत्रमा ४ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा ०.६ प्रतिशतले कर्जा विस्तार भएको छ। भने कृषि क्षेत्रतर्फको कर्जा २.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
कर्जाको प्रकृतिअनुसार ट्रष्ट रिसिट (आयात) कर्जा ३६.७ प्रतिशत ले सबैभन्दा धेरै बढेको छ।
यसपछि मार्जिन प्रकृतिको कर्जा १५.८ प्रतिशत, हायर पर्चेज कर्जा १०.३ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासहित) ६.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ५.८ प्रतिशत र आवधिक कर्जा ४.३ प्रतिशत ले वृद्धि भएको छ।
यता क्यास क्रेडिट कर्जा ०.३ प्रतिशत र अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा ०.४ प्रतिशतले घटेको छ।