काठमाडौं। नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेपछि पाँच वटा लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा गर्दै इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाले नियामकीय मापदण्ड उल्लंघन गरेको निष्कर्षसहित उक्त कारबाही गरेको हो।
राष्ट्र बैंकका अनुसार ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ (क) बमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका पाँच संस्थालाई सुधारात्मक कारबाहीमा राखिएको हो।
कारबाहीमा परेका संस्थामध्ये आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले २०८२ असार मसान्तसम्म ७.७७ प्रतिशत मात्र न्यूनतम पुँजीकोष अनुपात कायम गरेको पाइएको छ। त्यसैगरी गणपति लघुवित्त वित्तीय संस्थाको २०८२ असोज मसान्तसम्म ६.०६ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्थाको २०८२ असार मसान्तसम्म ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ६.०१ प्रतिशत तथा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ६.२० प्रतिशत मात्र पुँजीकोष अनुपात रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई पुँजीकोष सुदृढ बनाउन, जोखिम व्यवस्थापन प्रभावकारी बनाउन तथा नियामकीय मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको जनाएको छ।