इलाम : भारततर्फ नेपाली चियाको निर्यातमा कडाइ भएपछि असार १ गतेदेखि बन्द भएका देशभरका एक सयभन्दा बढी चिया उद्योग बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन्। सङ्घीय सरकार र स्थानीय तहबाट समस्या समाधानका लागि आश्वासन प्राप्त भएपछि उद्योगीहरूले आन्दोलनका कार्यक्रम स्थगित गर्दै उद्योग सञ्चालनमा ल्याएका हुन्।
इलाम, झापा, पाँचथर, भोजपुर, कास्कीलगायत जिल्लाका अर्थोडक्स तथा अन्य चिया उद्योगहरूले तयारी चियाको सहज निर्यातको वातावरण बनाउन माग गर्दै उद्योग बन्द गरेका थिए।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बूका अनुसार सरकारद्वारा गठित कार्यदललाई उद्योगीहरूले विभिन्न सुझाव बुझाएका थिए। ती सुझाव कार्यान्वयन गर्ने दिशामा सरकारबाट सकारात्मक मौखिक प्रतिबद्धता आएपछि उद्योग सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो।
उद्योगीहरूले भारतसँग तत्काल कूटनीतिक पहल गरी निर्यात सहज बनाउन, नेपालमा अन्तर्राष्ट्रियस्तरको परीक्षण प्रयोगशाला स्थापना नभएसम्म पुरानै सीएफएल प्रणालीमार्फत चिया निकासीको व्यवस्था गर्न, गोदाममा थन्किएको चिया बिक्री नभएसम्म उद्योगलाई बिनाब्याज ऋण उपलब्ध गराउन, अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्न तथा अर्गानिक चिया उत्पादन प्रवर्द्धनका लागि आवश्यक कानुनी र बजेटीय व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
यसैबीच, झापाको नेपाल चिया उत्पादक सङ्घले पनि सरकारी आश्वासनका आधारमा उद्योग बन्दलगायतका आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरिएको जनाएको छ।
१० लाख किलो चिया भण्डारण गर्ने तयारी
सूर्योदय नगरपालिकाले उद्योगीसँगको सहकार्यमा निर्यात हुन नसकी गोदाममा थन्किएको करिब १० लाख किलो अर्थोडक्स चिया सुरक्षित भण्डारण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। आवश्यक परे एक सिजनमा उत्पादन हुने ३० लाख किलोसम्म चिया भण्डारण गर्न सकिने संरचना तयार गर्ने नगरपालिकाको योजना छ।
भण्डारण व्यवस्थापनका लागि नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा उद्योगी सम्मिलित समिति गठन गरिएको छ। समितिले एक साताभित्र भण्डारकक्ष व्यवस्थापन गर्ने जनाइएको छ।
किसानलाई ठूलो आर्थिक मार
भारतले गत मे १ देखि प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि नेपाली चियाको निर्यात प्रभावित भएको छ। त्यसको प्रत्यक्ष असर चिया किसानमा परेको छ।
उद्योग बन्द हुँदा दैनिक करिब दुई लाख किलो हरियो चियापत्ती बिक्री हुन सकेन। उद्योगले यसअघि प्रतिकिलो ४० देखि ६० रुपैयाँसम्म मूल्य दिने गरेकोमा अहिले किसानहरू सिटिसी चियाका लागि प्रतिकिलो १५ रुपैयाँमै बिक्री गर्न बाध्य भएका छन्।
१० दिनको अवधिमा करिब २० लाख किलो हरियो चियापत्ती खेर गएको उद्योगीहरूको अनुमान छ। सरदर प्रतिकिलो ५० रुपैयाँका दरले हिसाब गर्दा किसानले करिब १० करोड रुपैयाँ बराबरको क्षति व्यहोरेका छन्। अहिले प्रतिकिलो १५ रुपैयाँमा बिक्री गर्दा पत्ती टिपाइ खर्च कटाएर किसानको हातमा प्रतिकिलो करिब तीन रुपैयाँ मात्र बच्ने अवस्था रहेको जनाइएको छ।
नगरपालिकाले विषादी नियन्त्रण तथा गुणस्तरीय अर्गानिक चिया उत्पादनलाई प्रवर्द्धन गर्न शुक्रबार सबै १४ वटै वडामा किसान, उद्योगी र स्थानीय तहबीच छलफल कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।