काठमाडौं। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या पहिचान तथा समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
गठित कार्यदलको संयोजकत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवले गर्नेछन्।
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिवहरूको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।
त्यसैगरी भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव पनि सदस्यका रूपमा रहनेछन्।
कार्यदलको सदस्य सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उपसचिवलाई तोकिएको छ।
सरकारले पछिल्लो समय भारतीय बजारमा नेपाली चिया निर्यातका क्रममा देखिएका विभिन्न अवरोध, गुणस्तरसम्बन्धी चुनौती तथा व्यापारिक समस्याहरूको समाधान खोज्न कार्यदल गठन गरेको जनाएको छ।