२०८३ साउन १० आइतबार

११ महिनामा १० हजारभन्दा बढी विद्युतीय सवारी भित्रिए, आयातमा २५ अर्ब रुपैयाँभन्दा बढी खर्च

ई आर्थिक    सोमबार, असार ८ २०८३
1K
Shares
११ महिनामा १० हजारभन्दा बढी विद्युतीय सवारी भित्रिए, आयातमा २५ अर्ब रुपैयाँभन्दा बढी खर्च

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा १० हजारभन्दा बढी ईभी आयात भएका छन्।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म कार, जीप र भ्यान गरी कुल १० हजार ८४७ युनिट ईभी नेपाल भित्रिएका छन्। यी सवारी आयातका लागि २५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा खर्च भएको छ भने सरकारले १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

आयात भएका सवारीमध्ये सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ईभी रहेका छन्। यस वर्गमा ६ हजार ३५७ युनिट सवारी आयात भएका छन्। त्यसमध्ये अधिकांश चीनबाट आएका छन् भने भारत, थाइल्याण्ड र बेलायतबाट पनि केही संख्यामा सवारी भित्रिएका छन्।

त्यसैगरी, ५० किलोवाटसम्म क्षमताका ३ हजार ६८० युनिट ईभी नेपाल आएका छन्। यीमध्ये चीन र भारत प्रमुख आपूर्तिकर्ता मुलुकका रूपमा रहेका छन्।

विभागका अनुसार १०० देखि २०० किलोवाट क्षमताका ७९८ युनिट तथा २०० देखि ३०० किलोवाट क्षमताका १० युनिट विद्युतीय सवारी आयात भएका छन्। यस अवधिमा दुई वटा अनएसेम्बल (खुला पार्टपुर्जाको रूपमा) सवारीसमेत भित्रिएको तथ्यांकमा उल्लेख छ।

केवल जेठ महिनामा मात्रै २ हजार २४० युनिट विद्युतीय सवारी नेपाल भित्रिएका छन्। यसका लागि ५ अर्ब २३ करोड रुपैयाँ बराबरको आयात भएको छ भने ३ अर्ब ४ करोड रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ।

जेठ महिनामा आयात भएका सवारीमध्ये ५० किलोवाटसम्म क्षमताका ८३२ युनिट, ५१–१०० किलोवाटका १ हजार ३३२ युनिट, १००–२०० किलोवाटका ७५ युनिट र २००–३०० किलोवाट क्षमताको १ युनिट सवारी रहेका छन्।

विद्युतीय सवारीको आयात निरन्तर बढिरहेकाले नेपालमा स्वच्छ ऊर्जामा आधारित यातायाततर्फको आकर्षण विस्तार हुँदै गएको संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij