काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा आँखा अस्पतालहरूलाई २३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेको छ।
बोर्डले असार ८ गते गरेको निर्णयअनुसार कुल २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४१९ रुपैयाँ ३५ पैसा बराबरको दाबी रकम भुक्तानी तथा पेश्की फर्छ्यौट गरिएको जनाएको हो।
बोर्डका लेखा उपसचिव पुष्पप्रसाद गुरागाईं का अनुसार अर्थ मन्त्रालयबाट असार ४ गते निकासा भएको बजेटका आधारमा सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम पठाइएको छ।
बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ गरी कुल २७ अर्ब ८१ करोड ७० लाख रुपैयाँभन्दा बढी दाबी रकम रुजु गरिएको थियो। यसमध्ये अघिल्लो वर्ष स्वास्थ्य संस्थाहरूलाई प्रदान गरिएको ४ अर्ब ३६ करोड ६९ लाख रुपैयाँभन्दा बढी पेश्की रकम खर्चमा समायोजन गरी फर्छ्यौट गरिएको छ।
दाबी भुक्तानी गर्दा स्वीकृत रकमको २ प्रतिशत कट्टा गरी बाँकी रकम सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई पठाइएको बोर्डले जनाएको छ। यससँगै आर्थिक वर्ष २०८१/८२ का सबै स्वीकृत दाबी तथा चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्मका स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।
भुक्तानी प्राप्त गर्ने अस्पतालहरूमध्ये भरतपुर अस्पताल ले सबैभन्दा बढी ७ करोड ११ लाख रुपैयाँ प्राप्त गरेको छ। त्यसपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ले ५ करोड ४७ लाख, लुम्बिनी प्रादेशिक अस्पताल ले ५ करोड ३ लाख र बाकुलहर रत्ननगर अस्पताल ले ४ करोड ९७ लाख रुपैयाँ प्राप्त गरेका छन्।
त्यसैगरी वीर अस्पताल ले ४ करोड ४८ लाख, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल ले ४ करोड २१ लाख, त्रिवि शिक्षण अस्पताल ले ४ करोड ४ लाख, दमक अस्पताल ले ३ करोड ९६ लाख, कोशी अस्पताल ले ३ करोड ३४ लाख तथा भेरी अस्पताल ले २ करोड २ लाख रुपैयाँ प्राप्त गरेका छन्।
स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको भुक्तानी विवरणले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थाहरूको आर्थिक व्यवस्थापनमा राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, यसबाट बीमित नागरिकलाई थप प्रभावकारी र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास बोर्डले व्यक्त गरेको छ।