२०८३ साउन १२ मंगलबार

पोखरा महानगरको आगामी वर्षका लागि ७ अर्ब १५ करोडको बजेट, विकासमा ४५ प्रतिशत विनियोजन

ई आर्थिक    शुक्रबार, असार ५ २०८३
893
Shares
पोखरा महानगरको आगामी वर्षका लागि ७ अर्ब १५ करोडको बजेट, विकासमा ४५ प्रतिशत विनियोजन

लेखनाथ । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरको १९औँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार बजेट प्रस्तुत गर्नुभएको हो।

प्रस्तुत बजेटअनुसार कुल विनियोजनमध्ये ५५ प्रतिशत चालु खर्चतर्फ र ४५ प्रतिशत पुँजीगत अर्थात् विकास निर्माणतर्फ छुट्याइएको छ।

महानगरले आगामी वर्ष सङ्घीय सरकारबाट तीन अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। यसमध्ये सशर्त अनुदानबाट दुई अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान पाँच करोड ५० लाख, समपूरक अनुदान एक करोड ८२ लाख तथा समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

त्यस्तै, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख र समानीकरण अनुदान आठ करोड १५ लाख ३६ हजार रुपैयाँ गरी कुल नौ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

राजस्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, प्रदेश सरकारबाट चार करोड नौ लाख ८६ हजार तथा स्थानीय सरकारतर्फ एक अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

महानगरले आन्तरिक स्रोतबाट दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। साथै आन्तरिक आयसहित कुल तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ जुट्ने लक्ष्य नगरसभामा प्रस्तुत गरिएको छ।

हाल पोखरा महानगरले चालु आर्थिक वर्षमा आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ। हालसम्म चालुतर्फ ६१.७ प्रतिशत र पुँजीगततर्फ २४.२ प्रतिशत बजेट खर्च भएको छ, जुन कुल बजेटको करिब ४० प्रतिशत हो।

चालु वर्ष आन्तरिक आयबाट चार अर्ब ६१ करोड ४० लाख ५४ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएकोमा हालसम्म दुई अर्ब १२ करोड ३८ लाख रुपैयाँ अर्थात् ४६ प्रतिशत मात्र राजस्व संकलन भएको महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij