काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। पछिल्ला तीन महिनादेखि बैंकिङ प्रणालीमा पर्याप्त तरलता र कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा निक्षेपको ब्याजदर क्रमशः ओरालो लागिरहेको देखिएको छ।
असारका लागि सार्वजनिक गरिएको ब्याजदरअनुसार अधिकांश बैंकले जेठको तुलनामा दर घटाएका छन् भने केही बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्। एनएमबि बैंकले अझै पनि सबैभन्दा बढी ४.७५ प्रतिशत ब्याजदर कायम राखेको छ। यद्यपि बैशाखमा ४.९० प्रतिशत रहेको यसको दर जेठमा ४.८० प्रतिशत हुँदै असारमा थप घटेको हो।
एनआईसी एसिया बैंक र हिमालयन बैंकले भने उल्लेख्य कटौती गरेका छन्। बैशाखमा क्रमशः ४.७५ प्रतिशत र ४.५० प्रतिशत ब्याजदर प्रदान गर्दै आएका यी बैंकले असारमा दर घटाएर ४ प्रतिशतमा झारेका छन्।
राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत ब्याजदरलाई निरन्तर कायम राखेको छ। त्यस्तै प्रभु बैंक र नबिल बैंकले ४.५५ प्रतिशत तथा ग्लोबल आइएमई, माछापुच्छ्रे, लक्ष्मी सनराइज, सानिमा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदरलाई तीन महिनादेखि स्थिर राखेका छन्।
नेपाल बैंकले बैशाखको ४.५० प्रतिशतबाट दर घटाएर ४.२५ प्रतिशतमा झारेको छ भने नेपाल एसबीआई बैंकले लगातार ४.२५ प्रतिशत ब्याजदर कायम राखेको छ। सिटिजन्स बैंक इन्टरनेशनलले ४.१५ प्रतिशतबाट सामान्य कटौती गर्दै ४.१० प्रतिशत कायम गरेको छ भने प्राइम कमर्सियल बैंकले असारका लागि ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
कृषि विकास बैंकले ४.१५ प्रतिशतको दरलाई यथावत राखेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने लगातार दर घटाउँदै असारमा ३.९५ प्रतिशतमा झारेको छ, जुन हाल वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम ब्याजदर हो। सिद्धार्थ बैंक र एभरेष्ट बैंकले ४.०५ प्रतिशत दर कायम राखेका छन् भने कुमारी बैंकले दर घटाएर ३.९६ प्रतिशतमा सीमित गरेको छ।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार निक्षेप संकलन बढ्दै जानु र कर्जा प्रवाह अपेक्षाकृत कमजोर रहनुले बैंकहरूलाई ब्याजदर घटाउने अवसर दिएको हो। ब्याजदरमा आएको गिरावटले ऋण लिने ग्राहकलाई राहत पुग्ने भए पनि मुद्दती निक्षेपको ब्याज आम्दानीमा निर्भर बचतकर्ताहरूको आम्दानी भने घट्ने देखिएको छ।