काठमाडौं । नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८२/८३ मा ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा विश्व अर्थतन्त्र ३.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ भने विश्व मुद्रास्फीति दर ४.४ प्रतिशत रहने जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान २४.४६ प्रतिशत, द्वितीय क्षेत्रको १३.७३ प्रतिशत र सेवा क्षेत्रको ६१.८१ प्रतिशत रहने अनुमान गरिएको छ। समीक्षा अवधिमा खाद्य तथा अन्य बाली उत्पादन ६.७६ प्रतिशतले घटेको भए पनि तरकारी तथा बागबानी उत्पादन १.०२ प्रतिशत र फलफूल उत्पादन ६.५१ प्रतिशतले बढेको छ। दूध उत्पादन २५.९७ प्रतिशतले घट्दा मासु उत्पादन ७.३७ प्रतिशत र अन्डा उत्पादन ६.७३ प्रतिशतले वृद्धि भएको छ।
उद्योग क्षेत्रको क्षमता उपयोग औसत ४२.११ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामध्ये ३०.८२ प्रतिशत हिस्सा औद्योगिक क्षेत्रमा गएको छ। सेवा क्षेत्रअन्तर्गत चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६ लाख ३ हजार १५० पर्यटक नेपाल आएका छन्। घरजग्गा रजिष्ट्रेशन संख्या १०.४ प्रतिशतले घटेर २ लाख ५ हजार ६८८ पुगेको भए पनि यसबाट प्राप्त राजस्व ६८.५ प्रतिशतले बढेर १८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.३९ प्रतिशतले र कर्जा प्रवाह ६.२४ प्रतिशतले वृद्धि भएको छ। निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी तथा कर्णाली प्रदेशको सबैभन्दा कम रहेको छ। सवारी साधन दर्ता संख्या ७.२२ प्रतिशतले बढेको छ भने छनोटमा परेका सहकारी संस्थाहरूको कुल पूँजी ०.०४ प्रतिशतले घटेको छ। यद्यपि सहकारीहरूको बचत ८.९१ प्रतिशत र कर्जा १.५५ प्रतिशतले बढेको छ।
पूर्वाधारतर्फ साउनदेखि पुस मसान्तसम्म १५९.०१ किलोमिटर कालोपत्रे सडक, ४ किलोमिटर ग्राभेल सडक र ३२ किलोमिटर माटे सडक निर्माण सम्पन्न भएको छ। बाह्य क्षेत्रतर्फ कुल वस्तु निर्यात ४३.७६ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा पुनः श्रम स्वीकृतिसहित ३ लाख ९६ हजार ८६ जना वैदेशिक रोजगारीमा गएका छन्।
संघीय सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको १९ खर्ब ६४ अर्ब रुपैयाँमध्ये पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ। अर्धवार्षिक समीक्षामार्फत वार्षिक बजेट संशोधन गरी १६ खर्ब ८८ अर्ब रुपैयाँ कायम गरिएको छ। प्रदेश सरकारहरूले विनियोजन गरेको २ खर्ब ८७ अर्ब रुपैयाँमध्ये समीक्षा अवधिमा ४० अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ।
सरकारले नीतिगत सुधार, प्रभावकारी बजेट व्यवस्थापन तथा विकास कार्यक्रमको कार्यान्वयनका कारण आर्थिक गतिविधि अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अपेक्षा गरेको छ। उत्पादन, व्यापार तथा सेवा क्षेत्रका गतिविधिमा क्रमिक वृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अनुमान गरिएको छ। यद्यपि पश्चिम एशियालगायत विश्व भूराजनीतिक तनावका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आपूर्ति प्रणालीमा दबाब सिर्जना गरी आगामी दिनमा मुद्रास्फीतिमा असर पर्न सक्ने संकेत गरिएको छ।
आर्थिक-गतिविधि-अध्ययन-अर्ध–वार्षिक-२०८२८३-को-प्रतिवेदन-एकिकृत