काठमाडौं । मन्त्रिपरिषद् बैठकले तीन निर्णयहरु गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को आज ( जेठ २९) गते बसेको बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थपदेखि सरकारी जग्गा संरक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन र लेखामान बोर्डको अध्यक्ष नियुक्तिसम्मका महत्वपूर्ण निर्णय गरेको हो।
बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को कार्यावधि २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। कार्यदललाई संविधान संशोधनका विषयमा थप अध्ययन तथा बहसपत्र तयारीका लागि समय दिइएको सरकारले जनाएको छ।
त्यस्तै, मन्त्रिपरिषद्ले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ। सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त निर्णय गरिएको बताइएको छ।
यस्तै, बैठकले सिन्धुपाल्चोकका रमेश कुमार धिताल लाई लेखामान बोर्ड को अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको छ।
सरकारले यी निर्णयहरू सुशासन, संस्थागत सुधार तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई केन्द्रमा राखेर गरिएको जनाएको छ।