२०८३ भाद्र २६ शुक्रबार

गल्याङका दुई वडा जोड्ने झोलुंगे पुल सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

ई आर्थिक    शुक्रबार, भाद्र २६ २०८३
95
Shares
गल्याङका दुई वडा जोड्ने झोलुंगे पुल सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

वालिङ।  स्याङ्जाको गल्याङ नगरपालिका ७ र ११ लाई जोड्ने गरी आँधीखोलामा झोलुंगे पुल निर्माण गरिएको छ।

गल्याङ ११ को बुढाथोकी डाँडा र वडा न ७ को सेनापुकलाई जोड्ने ४४४ मिटर लम्बाइको उक्त पुल निर्माणपछि सेनापुकबाट सिद्धार्थ राजमार्ग १० मिनेटमै आउन सकिने भएको हो। यसअघि सेनापुकबाट त्यहाँ आइपुग्न एक घण्टा लाग्दै आएको थियो।

सेनापुक लगायत आँधीखोला पारी रहेको बाक्लो बस्तीका नागरिकको सहजतासँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यो पुल उपयोगी हुने गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए।

‘पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य तथा दैनिक जीवनयापनका लागि सहज र सरल भएको छ’, उनले भने, ‘पुल निर्माणसँगै गल्याङलाई भौतिक, आर्थिक र सामाजिक दृष्टिले मजबुत बनाउँदै समग्र नगरलाई विकासको नयाँ आयाममा अघि बढाउने अपेक्षा गरेका छौँ।’

सडक किनारामै रहेको, अग्लो र लामो झोलुंगे पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चलपहलबाट यस क्षेत्रले आर्थिक लाभ लिन सक्ने उनको दाबी छ। पुल निर्माण भएपछि कृषि तथा पशुपालनका दृष्टिले उपयुक्त रहेको उक्त स्थानमा सम्भावनाका ढोका खुल्ने तथा गाउँबाट शहरमा बसाइँ सर्ने दर पनि घट्ने विश्वास लिइएको छ।

पुल नहुँदा विद्यार्थी पाँच किलोमिटर पैदल हिँडेर गल्याङका विद्यालयमा पुग्नुपर्ने बाध्यता अब अन्त्य भइ दुई किलोमिटरमै सिमित भएको स्थानीय रामप्रसाद अर्यालले बताए।

दैनिक बजार, विद्यालय, अस्पताल जान लागि गाउँबाट अटोले ३ सय देखि ५ सयसम्म लिने गरेको बताउँदै अर्यालले भने, ‘पुल तर्नासाथै सिद्धार्थ राजमार्ग छ, त्यहाँबाट जतिबेला पनि गाडी पाइन्छ, पहिलाभन्दा सस्तो र छिटो हुने गरेको छ।’

स-साना विद्यार्थीलाई विद्यालय पठाउन गाउँ नजिकैको खोलाको जोखिमले खोला तार्न अभिभावक जानुपर्ने बाध्यतासमेत पुल निर्माणले अन्त्य गरिदिएको छ। पुल सञ्चालनमा आएपछि गाउँका बहुआयामिक क्षेत्रमा फाइदा पुगेको स्थानीय अर्यालको दाबी छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij