गलकोट (बागलुङ) : नेपालको एकमात्र सिकार आरक्ष क्षेत्रका रूपमा परिचित ढोरपाटनमा पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्न थालेपछि पर्यटन व्यवसाय फस्टाउँदै गएको छ। पर्यटकको सङ्ख्या वार्षिक रूपमा करिब पाँच हजारका दरले बढ्न थालेसँगै यहाँ होटेल तथा घरबास (होमस्टे) सञ्चालनमा समेत उल्लेख्य वृद्धि भएको छ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमशृङ्खलाको मनोरम दृश्य, सिकार आरक्ष तथा धार्मिक–सांस्कृतिक सम्पदाका कारण ढोरपाटन गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यही सम्भावनालाई मध्यनजर गर्दै पछिल्लो समय निजी क्षेत्रको लगानी पनि बढ्न थालेको छ।
कुनै समय एउटा सामुदायिक होटेलको भरमा पर्यटन सेवा सञ्चालन हुने ढोरपाटन क्षेत्रमा पछिल्लो एक दशकमा ३९ वटा नयाँ होटेल, गेस्टहाउस तथा होमस्टे थपिएका छन्। चर्चित पत्रकार तथा भिडियोग्राफर सिर्जना ओलीले समेत यस वर्षदेखि होटेल सञ्चालन गर्ने तयारीस्वरूप पूर्वाधार निर्माणको काम अगाडि बढाउनुभएको छ।
ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार हाल क्षेत्रभर ३९ वटा निजी होटेल, होमस्टे तथा गेस्टहाउस सञ्चालनमा रहेका छन्। ती संरचनामा साधारण तथा विशिष्ट श्रेणीका गरी कुल २४० कोठा उपलब्ध छन्।
पर्यटकको आगमनसँगै स्थानीयवासीले घरबास व्यवसायलाई आयआर्जनको प्रमुख माध्यमका रूपमा विकास गर्न थालेका छन्। पाखाथर सामुदायिक होमस्टेका अध्यक्ष पुनम बुढामगरका अनुसार पाखाथर क्षेत्रमा मात्रै १० वटा होमस्टे सञ्चालनमा छन्।
हाल ढोरपाटन नगरपालिका क्षेत्रका तल्लोचौर, पाखाथर, तिब्बतीयन क्याम्प, स्यालपाखे, एयरपोर्ट, बिजोरीखोला, माझचौर, उत्तरगंगा तथा नवीलगायत स्थानमा होटेल तथा होमस्टे सञ्चालन भइरहेका छन्। स्थानीय व्यवसायीहरूका अनुसार पर्यटन पूर्वाधार विस्तार र प्रचारप्रसार बढ्दै गए आगामी वर्षहरूमा पर्यटक आगमन अझै बढ्ने अपेक्षा गरिएको छ।