२०८३ साउन १२ मंगलबार

पुनः श्रम स्वीकृतिमा डिजिटल सुधार, योग्य आवेदकले स्वचालित सेवा पाउने

ई आर्थिक    मंगलबार, जेष्ठ १९ २०८३
1.3K
Shares
पुनः श्रम स्वीकृतिमा डिजिटल सुधार, योग्य आवेदकले स्वचालित सेवा पाउने

काठमाडौँ ।  वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति (Re-entry) प्रक्रियालाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउन वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृतिलाई पूर्ण रूपमा स्वचालित प्रणालीमार्फत प्रदान गर्ने व्यवस्था लागू गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअनुसार उक्त व्यवस्था लागू गरिएको जनाएको हो।

मन्त्रीस्तरीय निर्णयअनुसार अब यसअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले सोही देश र सोही कम्पनीका लागि पुनः श्रम स्वीकृति आवेदन गरेमा तोकिएका शर्त पूरा भएको अवस्थामा स्वचालित प्रणालीमार्फत श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन्।

विभागका अनुसार स्वचालित पुनः श्रम स्वीकृतिका लागि आवेदकसँग कम्तीमा तीन महिनाको वैधता रहेको राहदानी हुनुपर्नेछ। त्यस्तै, वैध भिसा, कम्पनीसँगको करार सम्झौता, सामाजिक सुरक्षा कोषमा योगदान, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको तथा आवधिक जीवन बीमा गरेको हुनुपर्नेछ।

यसका साथै वैध भिसा, करार सम्झौतालगायतका विवरणबारे वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।

विभागले FEIMS प्रणालीमा गलत विवरण भरेमा वा आवश्यक कागजात नपेस गरी आवेदन दिँदा श्रम स्वीकृतिमा कुनै त्रुटि भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सेवाग्राही स्वयंले वहन गर्नुपर्ने जनाएको छ।

विभागका अनुसार नयाँ व्यवस्था लागू भएसँगै पुनः श्रम स्वीकृति प्रक्रियामा लाग्ने समय घट्ने, सेवाग्राहीको झन्झट कम हुने तथा वैदेशिक रोजगारी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij