संक्षिप्त हाइलाइट्स:
- शेयरको पुँजीगत लाभकर ५% बाट ७.५% र ७.५% बाट १०% पुग्यो।
- घरजग्गा कारोबारमा पनि करको दर समान रूपमा वृद्धि।
- एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्दा १०% कर।
- पाँच वर्षभन्दा कम अवधिमा घरजग्गा बिक्री गर्दा १०% कर।
- विकास आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा भने विशेष छुटको व्यवस्था ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक विधेयकमार्फत् शेयर र घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकरको दर वृद्धि गरेको छ। नयाँ व्यवस्थाअनुसार सूचीकृत कम्पनीका शेयर बिक्री गर्दा तथा घरजग्गा कारोबारबाट प्राप्त हुने लाभमा थप कर तिर्नुपर्ने भएको छ।
शुक्रबार संघीय संसद्मा प्रस्तुत आर्थिक विधेयक २०८३ अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट प्राप्त लाभमा लाग्ने करलाई अन्तिम कर मानिने व्यवस्था कायम राख्दै करको दर बढाइएको हो।
नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा बढी समय शेयर स्वामित्वमा राखेर बिक्री गर्दा प्राप्त हुने लाभमा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। त्यस्तै, एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गरेमा १० प्रतिशत कर तिर्नुपर्नेछ।
यसअघि एक वर्षभन्दा बढी समय शेयर होल्ड गरेर बिक्री गर्दा ५ प्रतिशत र एक वर्षभित्र बिक्री गर्दा ७.५ प्रतिशत लाभकर लाग्ने व्यवस्था थियो।
घरजग्गा कारोबारमा पनि सरकारले पुँजीगत लाभकर बढाएको छ। अब पाँच वर्ष वा सोभन्दा बढी समय स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा प्राप्त लाभमा ७.५ प्रतिशत कर लाग्नेछ भने पाँच वर्षभन्दा कम अवधिमा बिक्री गरेमा १० प्रतिशत कर तिर्नुपर्नेछ।
यसअघि पाँच वर्षभन्दा बढी स्वामित्व रहेको घरजग्गाको लाभमा ५ प्रतिशत र पाँच वर्षभन्दा कम अवधिको स्वामित्वमा ७.५ प्रतिशत कर लाग्दै आएको थियो।
सरकारले विकास निर्माणका आयोजना सञ्चालनका लागि जग्गा अधिग्रहण गर्दा भने केही राहत दिएको छ। विनियोजन विधेयकमार्फत् विकास आयोजनाका लागि जग्गा प्राप्ति गर्दा घरजग्गा रजिष्ट्रेसनका लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरिएको छ।
सरकारको यो निर्णयसँगै शेयर बजारका लगानीकर्ता तथा घरजग्गा कारोबारी दुवै क्षेत्रमा करको भार बढ्ने भएको छ।