२०८३ साउन १२ मंगलबार

नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान, सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

ई आर्थिक    बुधबार, जेष्ठ १३ २०८३
1.5K
Shares
नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान, सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं । अर्थमन्त्री  स्वर्णिम वाग्लेले प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्।

सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले गत आर्थिक वर्षको पूरा अवधि तथा चालु आर्थिक वर्षको आठ महिनासम्म संघ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको अवस्था समेटिएको बताए।

सभामा पेस गरिएको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। यस अवधिमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको उल्लेख गरिएको छ।

सर्वेक्षणअनुसार प्रदेशगत रूपमा अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान बागमती प्रदेश को रहेको छ, जसले कुल अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा ओगटेको छ। सबैभन्दा कम योगदान कर्णाली प्रदेश को रहेको छ, जसको हिस्सा ४.२ प्रतिशत मात्रै रहेको छ।

नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च रहने देखिएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ।

त्यस्तै, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर तथा खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।

यसैबीच, आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। यो रकम कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत बराबर रहेको अर्थमन्त्री वाग्लेले जानकारी दिए।

मन्त्री वाग्लेले चालु आर्थिक वर्षको नौ महिनामा सरकारले आन्तरिक तथा बाह्य गरी कुल तीन खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको बताए।

सर्वेक्षणअनुसार यस अवधिमा सरकारको वित्तीय सन्तुलन ५८ अर्ब रुपैयाँ घाटामा रहेको छ भने प्राथमिक सन्तुलन ९ अर्ब रुपैयाँ ऋणात्मक रहेको उल्लेख गरिएको छ।

यस्तो छ आर्थिक सर्वेक्षण २०८२/ २०८३ 

आर्थिक सर्वेक्षण

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij