काठमाडौं । उर्जामन्त्री विराज भक्त श्रेष्ठ नेतृत्वको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनगुनासोको तत्काल सुनुवाइ र समाधानलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको जनाएको छ।
मन्त्री श्रेष्ठको निर्देशनपछि मन्त्रालयअन्तर्गतका निकायलाई थप जिम्मेवार बनाउँदै गुनासो व्यवस्थापन प्रणालीलाई तीव्र, प्रभावकारी र परिणाममुखी बनाइएको मन्त्रालयले जनाएको हो।
मन्त्रालयले विद्युत् सेवासम्बन्धी हटलाइन नम्बर ११५१ लाई २४सै घण्टा सञ्चालनमा राख्दै सेवाग्राहीका समस्या तत्काल सम्बोधन गर्ने संयन्त्र सुदृढ गरेको छ। मन्त्रालयका अनुसार जेठ महिनाको पहिलो सातामात्र हटलाइनमार्फत प्राप्त १ हजार १८३ वटा गुनासोको शतप्रतिशत फर्छ्योट गरिएको छ।
प्राप्त गुनासोमध्ये भूमिगत केबलसम्बन्धी ७५, ‘नो लाइट’ का ११६, पोल नपाएको १९, ट्रान्सफर्मरसम्बन्धी ६, मिटर नपाएको ५ तथा इभी चार्जिङसम्बन्धी ३ वटा समस्या प्रमुख रहेका छन्।
त्यसैगरी, मन्त्रालयले संसद्को शून्य समयमा उठाइने प्रश्न तथा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रसँग सम्बन्धित माग, प्रश्न र गुनासोलाई समेत तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको जनाएको छ।
मन्त्रालयका अनुसार चैत १५ देखि ३० गतेसम्म फोनमार्फत ४ हजार २४८, ह्वाट्सएपमार्फत १४, इमेलमार्फत २ र हेलो सरकारमार्फत ५ गरी कुल ४ हजार २६९ वटा गुनासो प्राप्त भएका थिए। वैशाख महिनाभर फोनमार्फत ६ हजार २६, ह्वाट्सएपबाट ९२ र इमेलमार्फत १० वटा गुनासो दर्ता भएका थिए।
मन्त्री श्रेष्ठले कार्यभार सम्हालेयता कुल ११ हजार ५७५ वटा गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ। लिखित निवेदन तथा सार्वजनिक सञ्चार माध्यममा आएका विषयलाई समेत सचिवालयले निगरानीमा राख्दै समाधान प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ।