वीरगञ्ज । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई निराश भएर फर्किन नदिन निर्देशन दिएका छन्। उनले नागरिकमैत्री सेवा नै नेपाल प्रहरीको मुख्य प्राथमिकता भएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढ परिसरमा नव–निर्मित ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र’ भवन उद्घाटन गर्दै आईजीपी कार्कीले प्रहरीको प्रभावकारिता केवल भौतिक संरचनाले नभई व्यवहार, बोलीवचन र सेवाशैलीबाट मापन हुने बताए।
उनले भने, “प्रहरीको प्रभावकारिता केवल भवन र संरचनाले होइन, प्रहरी कर्मचारीको व्यवहार र सेवाप्रतिको संवेदनशीलताले निर्धारण गर्छ। यसतर्फ सबैले विशेष ध्यान दिनुपर्छ।”

आईजीपी कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र न्याय सुनिश्चित गर्न यस्ता सेवा केन्द्रहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनका अनुसार संयुक्त राष्ट्र सङ्घीय परियोजना कार्यालय (युएनओपीएस) को सहयोगमा हालसम्म देशभर ४४ वटा सेवा केन्द्र भवन निर्माण सम्पन्न भइसकेका छन् भने थप ८ वटा भवन निर्माणाधीन अवस्थामा छन्।
कार्यक्रममा उनले नेपाल प्रहरी एपमार्फत घरबाटै उजुरी तथा गुनासो दर्ता गर्न सकिने सेवा विस्तार भइरहेको जानकारी पनि दिए।
उद्घाटन कार्यक्रममा विभिन्न सरकारी तथा सुरक्षा निकायका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।