कपिलवस्तु । कपिलवस्तुको शिवराज अस्पतालमा बैंकमा जम्मा गरिएको भनिएको ३८ लाख रुपैयाँभन्दा बढी रकम खातामा नदेखिएपछि सुरु भएको अनुसन्धानमा ५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेमा नेपाल बैंक लिमिटेडका २ कर्मचारी तथा अस्पताल र नगरपालिकासँग सम्बन्धित ३ जना रहेका छन्। उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमल भण्डारी, तत्कालीन चन्द्रौटा शाखा तथा हाल मणिग्राम शाखामा कार्यरत कार्यालय सहयोगी विक्रम केसी रहेका छन्।
त्यसैगरी शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अमित पाण्डे तथा फार्मेसी सहायक रुक्सना खातुन पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार करिब एक महिनाअघि आर्थिक वर्ष २०८१/८२ को अडिटका क्रममा आधारभूत स्वास्थ्य सेवा अस्पतालको नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा रहेको खातामा जम्मा गरिएको भनिएका १२८ वटा भौचरको रकम बैंक अभिलेखमा नभेटिएपछि घटना बाहिर आएको हो।
घटनाबारे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासेको जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान जारी रहेको जानकारी दिएको छ।