काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रपति राम चन्द्र पौडेलले सोमबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।
नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ।
संसद् सचिवालयले संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई अपराह्न ३ः४५ बजेअघि नै उपस्थित हुन आग्रह गरेको छ। त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यतालिका रहेको छ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट जारी अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी जानकारी सदनमा प्रस्तुत गर्ने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।
त्यसैगरी, प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि प्रस्तुत गरिने तथा नियमावली मस्यौदामाथि छलफलको प्रक्रिया अघि बढाइने तयारी छ।
सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पनि संसद्मा पेस गरिने भएका छन्। तीमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश तथा संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेशसहित आठ अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।