२०८३ साउन १२ मंगलबार

बाढीपहिरोले अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालनमा

ई आर्थिक    शुक्रबार, बैशाख २५ २०८३
1.9K
Shares
बाढीपहिरोले अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालनमा

विपी राजमार्गमा सवारी आवागमन अर्को आदेश नभएसम्म बन्द

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँच वटा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार भोजपुर नगरपालिका–बोखिमस्थित मध्यपहाडी लोकमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्तीस्थित कोशी राजमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड, लमजुङको मध्यनेपाल नगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग तथा तनहुँको आबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएका हुन्।

प्रहरीका अनुसार वैशाख २१ गतेदेखि परेको निरन्तर वर्षाका कारण इलामको रोङ गाउँपालिका–६ सलकपुरस्थित ङखेप हुँदै झापा जोड्ने भित्री कच्ची सडक भने अझै पूर्ण रूपमा अवरुद्ध रहेको छ।

यसैबीच, काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी हुँदै सञ्चालन हुने विपी राजमार्गमा अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सवारी आवागमन रोक लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा बाढीपहिरोको जोखिम उच्च रहने भएकाले अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेका सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij