काठमाडौं । सरकारले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्को बैठकले विभिन्न चार महत्त्वपूर्ण निर्णयसमेत गरेको छ। बैठकले सम्माननीय राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८३ साल वैशाख २८ गते सोमबार दिउँसो ४ बजे सम्बोधन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) अन्तर्गतको ‘बाध्यकारी श्रम महासन्धि, १९३०’ सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको हो।
यसैगरी श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ अनुमोदनका लागि पनि संघीय संसद्मा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
