काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीलाई डर र त्रासमा नपर्न आग्रह गरेका छन् । आइतबार निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीतिगत सुधार गर्ने रहेको स्पष्ट पारेका छन् ।
सभापति लामिछानेले सरकारको सुशासन अभियानमा साथ दिन आग्रह गर्दै सरकार उद्योगी व्यवसायीसँग सहकार्य गरेर नै अघि बढ्न चाहेको बताएका छन् । यद्यपि अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिमा राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाइ थियो । विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्ति केन्द्रको दबाबमा परेको घटनालाई सरकारले आत्मसात गरेको उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था नदोहोरिनेमा ढुक्क हुन आश्वस्त पारेका छन् ।
व्यवसायीको मनोबल खस्किएको चर्चा चल्न थालेपछि आफूले छलफल अघि बढाएको बताउँदै उनले भने, “तपाईंहरू अलिकति पनि चिन्ता नगर्नुहोस् । सुशासनको एजेन्डालाई द्रुत गतिमा अघि बढाउँदा केही प्रश्न उठेका हुन सक्छन्, त्यसलाई सहज रूपमा लिनुहोला । सरकारको उद्देश्य कुनै पनि व्यवसायीलाई धराशायी बनाउने होइन ।”
उनले अर्थतन्त्रलाई नै कमजोर बनाउने गरी भएका संस्थागत बेथितिमा भने राज्य कठोर हुनुपर्ने उल्लेख गरेका छन् । “विगतमा राजनीतिक अस्थिरताका कारण तपाईंहरू नेताका ढोका ढक्ढक्याउन र कतिपय मूल्य–मान्यता मिच्न बाध्य हुनुभएको होला, त्यो हामीले बुझेका छौँ,” लामिछानेले भने, “अब निर्धक्क हुनुहोस्, कुनै पनि व्यवसायीले मेरो घर वा पार्टी कार्यालय धाउनुपर्ने अवस्था छैन । तपाईंहरूलाई नीतिले नै सुरक्षा दिनेछ ।”
सभापति लामिछानेले वर्तमान सरकार निर्वाचनका बेला जनतामाझ गरिएको वाचापत्रका आधारमा सञ्चालन हुने दाबी गरेका छन् । उनले उद्योगीलाई आफ्ना कमीकमजोरी मूल्याङ्कन गर्न, आन्तरिक लेखापरीक्षण गर्न र विगतका गल्ती सच्याउँदै राज्यसँग सहकार्य गर्न सुझाव दिएका छन् ।
नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै उनले ५–७ वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । सरकारले लगानीमैत्री वातावरण बनाउन प्रतिबद्धता जनाएको भन्दै उनले निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आह्वान गरेका छन् ।