काठमाडौं । काठमाडौंमा बागमती तथा यसका सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सहरी विकास मन्त्रालयले यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ।
मन्त्रालयले हालसम्म दर्ता प्रक्रियाबाट बाहिर रहेका तथा सडकमा अस्थायी रूपमा बसिरहेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रमा उपस्थित हुन अनुरोध गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको छ, जहाँ उपस्थित भई आवश्यक विवरण दर्ता गर्न मन्त्रालयले आह्वान गरेको छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा वास्तविक भूमिहीन नागरिकको डिजिटल अभिलेख तयार पार्दै ‘होल्डिङ सेन्टर’मार्फत व्यवस्थित रूपमा व्यवस्थापन गरिने उल्लेख गरिएको छ। यस्ता केन्द्रमा आवास, खाना, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र मनोवैज्ञानिक परामर्शजस्ता आधारभूत सुविधा उपलब्ध गराइने जनाइएको छ।
त्यस्तै, आर्थिक रूपमा कमजोर तथा भूमिहीन नागरिकलाई सरकारले उपलब्ध गराउने सेवा तथा सुविधाको लाभ लिन दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ। नागरिकको सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनःस्थापनामा सरकार प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ।