२०८३ साउन ९ शनिबार

हल्ला र अपुष्ट सूचनाबाट टाढा रहन सञ्चार क्षेत्रलाई मन्त्री तिमिल्सिनाको अपिल

ई आर्थिक    आइतबार, बैशाख ६ २०८३
2K
Shares
हल्ला र अपुष्ट सूचनाबाट टाढा रहन सञ्चार क्षेत्रलाई मन्त्री तिमिल्सिनाको अपिल

नुवाकोट ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना ले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रहँदै जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्नुभएको छ।

आइतबार विदुर नगरपालिका–४ बट्टारमा आयोजित पत्रकार भेटघाटमा मन्त्री तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि त्यसको नाममा भ्रामक सामग्री फैलाउनु उपयुक्त नहुने स्पष्ट पार्नुभयो। उहाँले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मअनुशासन र आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो।

“सरकार सबै समस्याको समाधान कारबाहीबाट मात्रै खोज्ने पक्षमा छैन, सञ्चार क्षेत्र आफैं जिम्मेवार बन्नु जरुरी छ,” उहाँले भन्नुभयो।

मन्त्री तिमिल्सिनाले हरेक समाचारले पार्ने प्रभावबारे गम्भीर विश्लेषण आवश्यक रहेको उल्लेख गर्दै भ्रामक सूचनाले छोटो समयमै ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिनुभयो। साथै, सरकारी विज्ञापन र सूचना प्रकाशनमा पारदर्शिता ल्याउन सरकारले नयाँ नीति कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो।

उहाँका अनुसार सरकारी सूचना सरकारी सञ्चारमाध्यममार्फत प्रवाह गर्ने व्यवस्था पारदर्शितासँग जोडिएको विषय हो। सञ्चार क्षेत्रमै देखिएका अनियमितता अन्त्य गर्न सरकार अघि बढेको उहाँको भनाइ थियो।

त्यस्तै, सञ्चार क्षेत्र बलियो र जिम्मेवार नभएसम्म सरकार पनि प्रभावकारी बन्न नसक्ने उल्लेख गर्दै उहाँले श्रमजीवी पत्रकारको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। तथ्यमा आधारित र समाधानमुखी पत्रकारितामा जोड दिनुपर्ने उहाँको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले सरकार काम र परिणाममार्फत जवाफ दिने नीतिमा रहेको स्पष्ट पार्दै नागरिकलाई निरन्तर प्रश्न गर्न र निगरानी राख्न आग्रह गर्नुभयो। “सरकार अफवाहभन्दा नीति र नतिजामा विश्वास गर्छ,” उहाँले भन्नुभयो।

नयाँ सरकार गठनपछि छोटो समयमै सेवा प्रवाह सुधार, सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो। साथै, प्रविधिको प्रयोग विस्तार गर्दै सेवा प्रवाहलाई सहज बनाउने योजना अघि सारिएको पनि बताउनुभयो।

युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij