काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूले तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो बढेपछि उजुरी दर्ता गर्न हेल्पडेस्क सञ्चालनमा ल्याएको छ।
मन्त्रालयले शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रमार्फत सञ्चालन गरिएको उक्त हेल्पडेस्कको जिम्मेवारी निर्देशक निमप्रकाश सिंह राठौर लाई दिएको जनाएको छ। सेवाग्राहीहरूले ९८५१२१४६३८ नम्बरमा सिधै फोन गरेर बढी शुल्क लिने विद्यालयविरुद्ध गुनासो गर्न सक्नेछन्।
मन्त्रालयले सबै निजी विद्यालयलाई निर्धारित मापदण्डभन्दा बढी शुल्क नलिन र यदि लिएको पाइएमा तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
निर्देशन उल्लङ्घन गर्ने विद्यालयलाई शिक्षा ऐन २०२८ अनुसार कारबाही गरिनेछ। उक्त ऐनअनुसार बढी असुल गरिएको शुल्क फिर्ता गराउनुपर्ने वा अधिकतम २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
मन्त्रालयले अभिभावक तथा सरोकारवालालाई यस्ता गतिविधि देखिएमा तत्काल उजुरी गर्न आह्वान गर्दै शिक्षा क्षेत्रमा पारदर्शिता र अनुशासन कायम गर्न कडाइ गरिने जनाएको छ।