काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै उनलाई पदमुक्त गर्ने तयारी अघि बढाइएको हो।
‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ,’ प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।
साह मन्त्री बनेको आज १४ दिन पुगेको छ। स्रोतका अनुसार उनलाई आजै पदबाट हटाउने तयारी गरिएको छ।
प्रधानमन्त्री सचिवालयबाट समेत श्रममन्त्री साहलाई पदबाट हटाउने सम्बन्धमा आन्तरिक तयारी भइरहेको जानकारी प्राप्त भएको छ।
श्रममन्त्री साहलाई हटाउन प्रधानमन्त्रीसमक्ष रास्वपाको सिफारिस
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका छन्।
वि.सं. २०८२ चैत २६ गते प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पठाइएको पत्रमा मन्त्री साहले पदमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाइएको छ। पत्रअनुसार मन्त्री साहले आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराएको विषय पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट पुष्टि भएको उल्लेख गरिएको छ।
केन्द्रीय अनुशासन आयोगले उक्त विषयमा कारवाही गर्न सिफारिस गर्दै चैत २५ गते पत्र पठाएको जानकारी समेत पत्रमा दिइएको छ। यस्तो कार्यबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा आँच आउने भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
पार्टी विधानको धारा २५ (४) (क) र धारा ६९ अनुसार पदको दुरुपयोग भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको हो।
त्यस्तै, सोही विषयमा अपेक्षित गाम्भीर्यता नदेखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन समेत सिफारिस गरिएको पत्रमा उल्लेख छ।
