काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको सञ्चिति २७.५ प्रतिशतले वृद्धि भई २०८२ फागुन मसान्तमा ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा १८.३ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा २३ अर्ब ८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंक सँग रहेको हिस्सा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँबाट बढेर ३० खर्ब ३५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन २५.७ प्रतिशतको वृद्धि हो। यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँबाट ४४ प्रतिशतले वृद्धि भई ३ खर्ब ७८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
२०८२ फागुन मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार हालको सञ्चिति स्तरले करिब २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।
त्यस्तै, कुल गार्हस्थ्य उत्पादनसँग सञ्चितिको अनुपात ५५.९ प्रतिशत, कुल आयातसँग १५३.८ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ४०.८ प्रतिशत पुगेको छ।