काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा को पहिलो अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे बस्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकको सुरुवातमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ। साथै राष्ट्रपतिको कार्यालय बाट प्राप्त प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरू पनि प्रस्तुत गरिनेछ।
बैठकमा प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही अघि बढाउने प्रस्ताव प्रस्तुत गरी स्वीकृत गरिनेछ। नियमावली निर्माण नभएसम्म सोही नियमावलीअनुसार कार्य सञ्चालन गर्ने प्रस्ताव पेश गरिने कार्यसूचीमा उल्लेख छ।
त्यसैगरी सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सदस्यहरूको मनोनयन गरिनेछ भने अधिवेशन प्रारम्भको अवसरमा विभिन्न दलका सांसदहरूले मन्तव्य राख्ने कार्यक्रम पनि तय गरिएको छ।

बैठकमा सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने कार्यसूचीसमेत रहेको छ। साथै गृहमन्त्री सुधन गुरुङ ले विभिन्न अध्यादेशहरू पेस गर्ने कार्यक्रम रहेको छ, जसमा “मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२”, “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२” र “नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२” समावेश छन्।
यसैगरी बैठकमा पूर्व संविधानसभा सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा संविधानसभा र राष्ट्रिय सभा सदस्य बलदेव बोहरा को निधनप्रति शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेय ले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकका सबै तयारी पूरा भएको जनाइएको छ।