काठमाडौं । संघीय संसद्को अधिवेशन सुरु हुनुअघि संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाइएपछि सचिवालयले दलहरूबीच समन्वयका लागि बैठक बोलाएको हो।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनुभन्दा एक घण्टाअघि नै बैठक राखिएको उनले जानकारी दिए।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक चैत १९ गते दिउँसो २ बजेका लागि तय गरिएको छ।
संसद् बैठकलाई व्यवस्थित, प्रभावकारी र सहमतिको आधारमा सञ्चालन गर्न सर्वदलीय बैठक महत्वपूर्ण मानिएको छ।