काठमाडौँ । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आगामी चैत्र १९ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले बिहीबार अपराह्न २ बजे संघीय संसद भवन, सिंहदरबारमा दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले संविधान संशोधनका लागि आवश्यक बहस पत्र तयार गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। उक्त कार्यदल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा गठन गरिनेछ, जसमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिहरू रहनेछन्।
प्रवक्ता पोखरेलले संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले सबै दलको सहभागितामा कार्यदल गठन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यदलले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्नेछ।
सरकारको यो निर्णयसँगै आगामी संसद अधिवेशनमा संविधान संशोधनको विषय प्रमुख एजेण्डा बन्ने संकेत देखिएको छ।