२०८३ साउन १० आइतबार

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस, सरकार गठन प्रक्रिया सुरु हुने

ई आर्थिक    बिहिबार, चैत्र ५ २०८२
2.8K
Shares
निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस, सरकार गठन प्रक्रिया सुरु हुने

काठमाडौं ।  निर्वाचन आयोग ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिका बीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले निर्वाचन सम्पन्न गराउन भूमिका खेलेका निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी तथा सम्बद्ध सबै पक्षलाई धन्यवाद दिएका छन्।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ,’ राष्ट्रपति पौडेलले भने, ‘यसले निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि गर्दै लोकतन्त्रलाई अझ मजबुत बनाएको छ।’

निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक अब नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्नेछ। प्रतिनिधिसभाको २७५ सदस्यीय संरचनामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिकतर्फ ११० सिट छन्। प्राप्त नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले करिब दुई तिहाइ बहुमत अर्थात् १८२ सिट जितेको छ।

नेपालको संविधानको धारा ७६ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

यसैबीच, संघीय संसद् सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिएपछि उनीमार्फत अन्य सांसदलाई शपथ गराइने कानुनी व्यवस्था छ।

संविधानको धारा ९३ अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ। सोहीअनुसार अब संसद् बैठक आह्वानको प्रक्रिया अघि बढ्नेछ।

संसद्को पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ भने त्यसपछि सात दिनभित्र सभामुख र उपसभामुख चयन प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij