ललितपुर । रवि लामिछाने ले राष्ट्रिय स्वतन्त्र पार्टी का नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा जिम्मेवार र सन्तुलित राजनीतिक संस्कारको खाँचो औंल्याउँदै सम्बोधन गर्नुभएको छ।
उहाँले वर्तमान राजनीतिक अवस्थालाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो। “देशको इतिहास आफ्नै हातले लेख्ने अवसर आएको छ,” भन्दै उहाँले अब कामले नै मूल्यांकन हुने राजनीतिक संस्कार विकास गर्नुपर्ने धारणा राख्नुभयो।
सम्बोधनका क्रममा लामिछानेले विकासको मुख्य सूचक सामाजिक न्याय हुनुपर्ने बताउनुभयो। विभेदरहित र न्यायपूर्ण समाज निर्माणबिना वास्तविक विकास सम्भव नहुने उहाँको भनाइ थियो। साथै, देशको समग्र विकासमा सबै क्षेत्रलाई समान प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै कुनै एक क्षेत्र मात्र समृद्ध हुँदा त्यो विकास नहुने स्पष्ट पार्नुभयो।

उहाँले पार्टीभित्र समावेशीतामा अझ सुधार आवश्यक रहेको स्वीकार गर्दै केही समुदायको प्रतिनिधित्व हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो। लोकतान्त्रिक प्रणाली, संविधान र वर्तमान व्यवस्थाप्रति पार्टीको प्रतिबद्धता दृढ रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
लामिछानेले विजयी हुनु जिम्मेवारी भएको उल्लेख गर्दै विपक्षीप्रति सम्मानजनक व्यवहार गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। सामाजिक सञ्जालमा देखिने असहिष्णुता र आक्रामक शैलीबाट बाहिर निस्कन समर्थक तथा कार्यकर्तालाई निर्देशन दिँदै जिम्मेवार अभिव्यक्तिमा जोड दिनुभयो।
उहाँले सुशासन, रोजगारी सिर्जना र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै विश्वविद्यालय सुधार, उद्योग सञ्चालन तथा विकासका आधारभूत सूचकहरूमा ध्यान दिनुपर्ने बताउनुभयो। साथै, “राइट टु रिकल” कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
मन्त्री चयनबारे अनावश्यक चर्चा नगर्न आग्रह गर्दै उहाँले पार्टीले योग्यताका आधारमा निर्णय गर्ने विश्वास दिलाउनुभयो। “यो कुनै एक पार्टीको जित होइन, देशको जित हो,” भन्दै उहाँले प्राप्त जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।