काठमाडौं । फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको तयारीमा तीव्र रूपमा जुटेको छ। पार्टीले एकातर्फ नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिइरहेको छ भने अर्कोतर्फ सरकार गठनका लागि आन्तरिक रणनीति अघि बढाइरहेको छ।
मंगलबार सुरु भएको दुईदिने प्रशिक्षणअन्तर्गत पहिलो दिन सांसदहरूले करिब १२ घण्टा सहभागिता जनाएका थिए भने आज दोस्रो दिन थप सात घण्टे प्रशिक्षण जारी छ। प्रशिक्षणमार्फत संसदीय अभ्यास, नीति प्राथमिकता र शासन सञ्चालनका आधारभूत विषयमा अभिमुखीकरण गरिँदैछ।
यसैबीच, भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) भने प्रशिक्षणमा सहभागी नभई सरकार गठनका लागि आवश्यक टिम निर्माणमा केन्द्रित छन्। उनले मन्त्रिमण्डलको सम्भावित आकार, सदस्य छनोटका मापदण्ड तथा प्रारम्भिक कार्यसूचीबारे छलफललाई तीव्र बनाएका छन्।

रास्वपाले बालेनको नेतृत्वमा सरकार गठन गर्ने तयारीसँगै संसदीय दलको नेता चयन र पार्टी विधान संशोधन प्रक्रिया अघि बढाउने गृहकार्य पनि सुरु गरेको छ। यसका लागि पार्टीभित्र सहमति जुटाउने प्रयास भइरहेको स्रोतले जनाएको छ।
पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालबीच सरकारको संरचना, मन्त्री छनोटका मापदण्ड र सरकार गठनपछि प्राथमिकतामा राखिने कामबारे निरन्तर छलफल भइरहेको छ।
शीर्ष नेताहरूबीचको छलफल सक्षम, स्वच्छ छवि भएका र परिणाममुखी व्यक्तिलाई मन्त्रिमण्डलमा समावेश गर्नेमा केन्द्रित रहेको बताइएको छ। साथै, सरकार गठनलगत्तै सुशासन, सेवा प्रवाह सुधार र आर्थिक गतिविधि तीव्र बनाउने योजनालाई प्राथमिकतामा राख्ने तयारी गरिएको छ।
रास्वपाले प्रशिक्षण र आन्तरिक तयारीलाई सँगसँगै अघि बढाउँदै छिट्टै सरकार गठन गर्ने लक्ष्य लिएको देखिन्छ।