२०८३ साउन ११ सोमबार

चालु आवको ७ महिनामा वाणिज्य बैंकले गरे ३८ अर्ब नाफा

ई आर्थिक    शुक्रबार, फाल्गुन २९ २०८२
2K
Shares
चालु आवको ७ महिनामा वाणिज्य बैंकले गरे ३८ अर्ब नाफा

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सात महिनामा नेपालका वाणिज्य बैंकहरूले कुल ३८ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिमा बैंकहरूको नाफा ३६ अर्ब ६ करोड रुपैयाँ थियो, जसअनुसार यस वर्ष नाफामा ५.४ प्रतिशतको वृद्धि भएको देखिएको छ।

यस अवधिमा २० वाणिज्य बैंकमध्ये १० बैंकको नाफा बढ्दा बाँकी १० बैंकको नाफा घटेको तथ्यांकले देखाउँछ। नाफा सबैभन्दा धेरै वृद्धि गर्नेमा कुमारी बैंक रहेका छन् भने सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक अगाडि रहेको छ।

बैंकहरूको खुद नाफा विवरण अनुसार नबिल बैंकले ५ अर्ब ३८ करोड, ग्लोबल आइएमई बैंकले ४ अर्ब १४ करोड, कुमारी बैंकले ३ अर्ब १७ करोड, एभरेष्ट बैंकले २ अर्ब ५० करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ३९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड र एनएमबी बैंकले २ अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ८८ करोड, नेपाल बैंकको १ अर्ब ८५ करोड, सानिमा बैंकको १ अर्ब ७३ करोड र सिद्धार्थ बैंकको १ अर्ब ७० करोड रहेको छ।

विशेषत: कुमारी बैंकको नाफा गत आवको तुलनामा ३२९.८५ प्रतिशतले बढेको छ। गत आवको माघ मसान्तसम्म कुमारीको नाफा ७३ करोड ८६ लाख थियो भने चालु आवको सोही अवधिमा ३ अर्ब १७ करोड पुगेको छ। यसरी गत वर्ष सूचीको अन्तिम नम्बरमा रहेको बैंक यस वर्ष तेस्रो नम्बरमा उक्लिएको छ।

सिद्धार्थ बैंकको नाफा ९९.५७ प्रतिशतले बढेको छ भने राष्ट्रिय वाणिज्यको ५२.४६, नबिलको ३४, माछापुच्छ्रे बैंकको २८.६३, सानिमाको २६, नेपाल एसआईबी बैंकको १०.६, प्राइम कमर्सियलको ९.८१, कृषि विकास बैंकको ७.५० र ग्लोबल आइएमईको ६.६२ प्रतिशतले वृद्धि भएको छ।

यसरी चालु आवको सात महिनामा बैंकहरूको नाफामा सुधार देखिएको छ, जबकि केही बैंकको नाफा घटेको पनि तथ्यांकले देखाउँछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij