काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको छ। अघिल्लो दिन बिहीबार पनि दुवै धातुको मूल्य ओरालो लागेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो, जुन दिन पनि प्रतितोला २ हजार रुपैयाँले घटेको थियो।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ४ सय ९५ रुपैयाँमा झरेको छ। बिहीबार भने चाँदी प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको थियो। सो दिन चाँदीको मूल्य प्रतितोला २ सय ५ रुपैयाँले घटेको थियो।
यसअघि नेपाली बजारमा सुनले गत माघ १५ गते हालसम्मकै उच्च मूल्य कायम गरेको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी पनि सोही दिन प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेर उच्च मूल्यमा पुगेको थियो।