चितवन । रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन आयोग नेपालमा बुझाएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार उनले आफ्नो निर्वाचन खर्चको विस्तृत विवरण पेश गरेका हुन्।
विवरणअनुसार लामिछानेले चुनाव प्रचार–प्रसार तथा अन्य गतिविधिमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन्।
खर्च विवरणमा मनोनयन दर्ता खर्च शीर्षकमा १० हजार रुपैयाँ उल्लेख गरिएको छ। त्यसैगरी नमुना मतपत्र तथा प्रचार सामग्री छपाइमा ६८ हजार १६१ रुपैयाँ खर्च भएको जनाइएको छ।
यातायात तथा इन्धनतर्फ १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। मतदाता प्रशिक्षणका क्रममा खाजातर्फ १४ हजार २०० रुपैयाँ खर्च गरिएको जनाइएको छ।
यसैगरी प्रचार–प्रसार सामग्री अन्तर्गत झण्डा, ब्याच, ब्यानर तथा स्टिकर खरिदमा विभिन्न रकम खर्च गरिएको छ। ब्यानर खरिदमा ५५ हजार रुपैयाँ, अन्य प्रचार सामग्रीमा १ लाख १२ हजार रुपैयाँ तथा वडास्तरीय प्रचारप्रसारमा ४६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको देखिन्छ भने हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।
उक्त सबै खर्च जोड्दा रवि लामिछानेको निर्वाचन खर्च ९ लाख ८९ हजार ९८७ रुपैयाँ पुगेको विवरणमा उल्लेख गरिएको छ।