२०८३ साउन १२ मंगलबार

नयाँ निर्वाचित सांसदको शपथ र संसद् अधिवेशनको तयारी सुरु

ई आर्थिक    मंगलबार, फाल्गुन २६ २०८२
1.7K
Shares
नयाँ निर्वाचित सांसदको शपथ र संसद् अधिवेशनको तयारी सुरु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण तथा संसद् अधिवेशनको तयारी सुरु भएको छ।

संवैधानिक व्यवस्था अनुसार निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ। सोही अनुसार संसद् बैठक सञ्चालनको तयारी अघि बढाइएको छ।

अधिवेशनअघि नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ। सो क्रममा सबैभन्दा जेष्ठ सदस्यले सबैभन्दा पहिले सम्माननीय राष्ट्रपतिबाट शपथ लिनेछन्। त्यसपछि उक्त जेष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने व्यवस्था रहेको छ।

हाल संसद् बैठक बस्ने स्थायी भवन भने उपलब्ध छैन। जेनजी  आन्दोलनका क्रममा संसद् भवनमा आगलागी भएपछि नियमित बैठक सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्ने अवस्था आएको हो।

यसका लागि सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हल (Multipurpose Hall) लाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी भइरहेको छ। उक्त हलको निर्माण अन्तिम चरणमा पुगेको र केही हप्ताभित्रै सम्पन्न हुने अपेक्षा गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले जानकारी दिएका छन्।

यसैबीच संघीय संसद् सचिवालयले नयाँ निर्वाचित सांसदहरूको क्षमता अभिवृद्धिका लागि दुई दिने अभिमुखीकरण (Orientation) कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाएको छ। कार्यक्रममा संसदीय प्रक्रिया, नियमावली तथा सांसदहरूको भूमिका र जिम्मेवारीबारे जानकारी दिइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij