काठमाडौँ। धनुषा निर्वाचन क्षेत्र नं. १ को मतगणनाको अन्तिम परिणाम तत्काल घोषणा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतका माननीय न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार उक्त आदेश जारी गर्दै मुद्दाको अन्तिम सुनुवाइ नभएसम्म मतपरिणाम घोषणा नगर्न निर्देशन दिएको हो।
किशोरी साह कमलले दायर गरेको उत्प्रेषण रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले विपक्षी निर्वाचन आयोग नेपाल लगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ। अदालतले विपक्षीहरूलाई आदेश प्राप्त भएको मितिले ७ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न पनि निर्देशन दिएको छ।
अदालतले अन्तरिम आदेशको मागबारे विचार गर्दा निर्वाचन आयोगको पत्रबाट अदालतको आदेश नआउन्जेलसम्म सम्बन्धित निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मत परिणाम घोषणा नगर्न निर्वाचन अधिकृतलाई जानकारी गराइसकेको देखिएको उल्लेख गरेको छ।
मुद्दाको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा आयोगको समेत कुरा सुनेर निर्णय गर्न उपयुक्त हुने ठहर गरेको छ।
यसका लागि अदालतले फागुन २९ गतेलाई प्राथमिकतामा राखेर पेसी तोक्दै सो दिन निर्वाचन आयोगलाई निवेदकको उम्मेदवारी खारेज गर्ने सम्बन्धी मिति २०८२ फागुन १८ को निर्णयसहितको फाइल अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

यस आदेशसँगै धनुषा–१ को अन्तिम मतपरिणाम घोषणा प्रक्रिया तत्कालका लागि रोकिएको छ।