पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेस ५ स्थानमा जीत सहित १४ स्थानमा अग्रता, २ स्थानमा जीतसहित १२ स्थानमा नेपाली कम्युनिष्ट पार्टीको अग्रता, १ स्थानमा जीतसहित ११ स्थानमा एमालेको अग्रता, श्रम संस्कृति पार्टी ६ स्थानमा अग्रता, राप्रपा १ स्थानमा अग्रता र एक स्वतन्त्र पार्टीको अग्रता कायम रहेको छ ।
ई–आर्थिक, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता हासिल गरेको छ। बिहान ७ बजेसम्म सार्वजनिक परिणामअनुसार रास्वपाले हालसम्म १९ निर्वाचन क्षेत्रमा जित हात पारेको छ भने ९८ क्षेत्रमा अग्रता कायम गरेको छ ।
निर्वाचन आयोगका अनुसार रास्वपाबाट घोषणा भएका विजेताहरुमा मोरङ–४ मा सन्तोष राजवंशी, मोरङ–६ मा रुविना आचार्य, धनुषा–३ मा मनिषा झा, काठमाडौँ–१ मा रञ्जु न्यौपाने, काठमाडौँ–३ मा राजुनाथ पाण्डे, काठमाडौँ–४ मा पुकार बम, काठमाडौँ–५ मा सस्मित पोखरेल, काठमाडौँ–७ मा गणेश पराजुली, काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ–९ मा डोलप्रसाद अर्याल, काठमाडौँ–१० मा प्रदीप विष्ट, काठमाडौं–६ बाट शिशिर खनाल, विजयी भएका छन्।
यस्तै कास्की–२ मा उत्तमप्रसाद पौडेल, कास्की–३ मा बिना गुरुङ, रुपन्देही–४ मा कन्हैया बानियाँ तथा बाँके–१ मा सुरेशकुमार चौधरी, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, बाँके–३ मा खगेन्द्र सुनार र महोत्तरी–१ मा प्रमोदकुमार महतो विजयी भएको आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म २७ निर्वाचन क्षेत्रमा अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत कुल १६५ निर्वाचन क्षेत्रमध्ये अहिले १६२ क्षेत्रमा मतगणना जारी छ।
यसैबीच नेपाली कांग्रेसले पाँच क्षेत्रमा जित हासिल गरेको छ। मनाङ–१ मा टेकबहादुर गुरुङ, मुस्ताङ–१ मा योगेश गौचन थकाली, दैलेख–१ मा बासना थापा, रसुवा–१ बाट मोहन आचार्य र तेह्रथुम–१ बाट सन्तोष सुब्बा विजयी भएका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ९ स्थानमा अग्रस्थानमा रहेका छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्व–१ बाट र महेन्द्रबहादुर शाही कालिकोट–१ बाट निर्वाचित भएका छन् । उक्त पार्टीका उम्मेदवार अन्य १० क्षेत्रमा अग्रता कायम गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मोहम्मद इश्तियाक राई बाँके–१ बाट विजयी भएका छन् भने एमालेका उम्मेदवार १० निर्वाचन क्षेत्रमा अगाडि रहेका छन् ।
त्यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार तीन स्थानमा अग्रता लिइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक स्थानमा तथा एक स्वतन्त्र उम्मेदवार पनि एक क्षेत्रमा अगाडि रहेको आयोगले जनाएको छ।