चुनावी विश्लेषण
भक्तपुरको क्षेत्र नं. १ मा १८ देखि ४० वर्ष उमेर समूहका युवा मतदाताको संख्या ४१ प्रतिशत छ, जुन उमेर समूहले रास्वपालाई मन पराउछन् । त्यही उमेर समूह नतिजाका लागि निर्णायक बन्न सक्ने भएकाले पनि रास्वपाको जीत हुने आँकलन गरिएको छ ।
ई–आर्थिक, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ मानिने भक्तपुर जिल्लाको क्षेत्र नं. १ मा पनि अन्य स्थानमा जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर मतान्तर बढाउँदै लगिरहेको छ । यसरी मतान्तर बढाउँदै लगेपछि रास्वपाले यस क्षेत्रको गढ पनि भत्काउने हो कि भनेर प्रारम्भीक अनुमान लगाउन थालिएको छ ।
रास्वपाका रुकेश रञ्जितले ९८०४ मत ल्याउँदा यसअघिका सांसद समेत रहेका नेमकिपाका प्रेम सुवालले ६११८ मत ल्याएका छन् । सुवाल ३६८६ मतान्तरसहित रास्वपाका रञ्जितलाई पछ्याइरहेका छन् । उनले लगातार मतान्तर बढाउँदै लगिरहेका छन् ।
पछिल्लो मत गणना अनुसार तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका किरण न्यौपानेले १६८४ ल्याएका छन् भने एमालेका सोम प्रसाद मिश्रले १००६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्काले ४७२, नेपाली कम्युनिष्ट पार्टीका हरिराम लबजुले ३६५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी श्रम संस्कृति पार्टीका बिष्णु हरि न्हिसुतुले १२२, उज्यालो नेपाल पार्टीका रमेश बल्लले ११०, जनता समाजबादी पार्टी नेपालका श्याम सुन्दर सिल्पकारले ८१, राष्ट्रिय जनमोर्चाका इश्वरीप्रसाद पैयानीले ६६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रमान कोजुले २७, प्रगतिशील लोकतान्त्रिक पार्टीका रबि खाइजुको २०, आम जनता पार्टी (एकल चुनाव चिन्ह) देवेन्द्र ठाकुरको ११, स्वतन्त्र उम्मेद्वार सुरेश कोजुले ११ मत प्राप्त गरेका छन् । त्यस्तै बाँकी उम्मेद्वारको १० भन्दा कम मत रहेको छ ।
भक्तपुर १ मा २४ जना उम्मेद्वारले प्रतिस्पर्धा गर्दैछन् ।
गणना भइरहेको मत परिणाम हेर्दा दशकौँदेखि नेमकिपाको वर्चस्व रहेको यस क्षेत्रमा रास्वपाले दबाब मात्रै बढाएको छैन । यही अनुपातमा मत आउने हो भने भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाको गढ भत्काएर रास्वपाले जित्ने निश्चित जस्तै देखिएको छ ।
भक्तपुरको क्षेत्र नं. १ मा पुरुष ५२,०६६ र महिला ५४९८८ गरी कुल १,०७,०५४ मतदाता रहेका छन् ।
जसमध्ये १८ देखि ४० वर्ष उमेर समूहका युवा मतदाताको संख्या ४१ प्रतिशत छ । त्यही उमेर समूह जितको नतिजा ल्याउन निर्णायक बन्न सक्ने आंकलन गरिएको छ । यस क्षेत्रमा ‘प्रतिबद्ध’ मादल छापका मतदाताबीच १८ देखि ४० बर्षसम्मका मतदाताको संख्या उल्लेख्य भएको र उक्त मत रास्वपाका रुकेश रञ्जितलाई गएको अनुमान छ ।
त्यस्तै मादल छापको बर्चश्व रहेको पकड एरियाबाटै रास्वपाले रुकेश रञ्जितलाई उम्मेद्वार छान्नाले पनि रास्वपालाई फाइदा हुने देखिएको छ । त्यसो त ४६ बर्षिय युवा उद्यमी रञ्जित भक्तपुर १ का जनतामाझ लोकप्रिय पनि रहेको बताइन्छ । उनलाई प्राप्त मत परिणाम हेर्दा पनि यो कुरालाई पुष्टि पनि गरिदिएको छ ।
प्रेम सुवालले २०७९ सालको निर्वाचनमा ४२७६१ मत ल्याएर विजय हासिल गरेका थिए । त्यसताका एमालेका उम्मेद्वार नवराज गेलालले ११९६८ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए भने तेस्र्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार भरत खड्काले ९३०३ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए ।
नेपाल मजदुर किसान पार्टी : सिद्धान्तमा अडिग वामपन्थी शक्ति
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नेपालको एक वामपन्थी राजनीतिक दल हो। पार्टीको स्थापना सन् १९७५ जनवरी २३ अर्थात् वि.सं. २०३१ माघ १० गते भएको हो।
सन् १९७६ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी सङ्गठन नेपाल र किसान समितिको एकीकरणबाट नेमकिपा गठन गरिएको थियो। पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) स्थापना कालदेखि नै निरन्तर नेतृत्वमा रहेका छन्।
नेमकिपा मार्क्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई नेपालको विशेषताअनुसार लागू गर्नुपर्ने मान्यता राख्दछ। पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका ‘खोटा विचार’को आलोचना गर्दै ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ भएको विश्लेषणलाई आफ्नो सैद्धान्तिक आधार मान्दै आएको छ।
पार्टीले राष्ट्रिय पुँजीलाई देशकै विकासमा लगानी गर्नुपर्ने, नेपालीको सम्पत्ति विदेशमा लैजान नदिने कानुनी व्यवस्था गर्नुपर्ने र काम नगर्ने तथा देश–जनतालाई धोका दिने ठेकेदारलाई कडा कारबाही गर्नुपर्ने माग उठाउँदै आएको छ।
त्यस्तै, आफ्नै देशमा रासायनिक मल कारखाना स्थापना, गोर्खा भर्ती खारेजी, माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य बनाउने, विश्वविद्यालय शिक्षा सहज बनाउने, शिक्षामा बजेट वृद्धि गर्ने, स्थानीय तहलाई स्वायत्तता तथा विकेन्द्रीकरणको अधिकार दिने लगायतका एजेन्डा नेमकिपाले निरन्तर उठाउँदै आएको छ।
पार्टीले कामदार वर्गको दैनिक समस्यालाई लिएर सङ्गठित सङ्घर्ष गर्ने मार्क्सवादी नीति र प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर पनि जनताको सेवा गर्ने लेनिनवादी नीतिलाई आत्मसात गरेको बताउँदै आएको छ।
नेमकिपाले मोहियानी हक सुरक्षा आन्दोलन, बाली काट्ने अभियान, भ्रष्टाचारविरोधी सङ्घर्ष, महँगीविरोधी आन्दोलन, भर्पाइ आन्दोलनलगायत जनजीविकासँग सम्बन्धित विभिन्न आन्दोलन सञ्चालन गर्दै आएको छ। भूमिसुधारको सवालमा ‘जमिन जोत्नेको’ सिद्धान्तमा आधारित क्रान्तिकारी भूमिसुधारको पक्षमा पार्टी उभिँदै आएको छ।
साम्राज्यवादी र विस्तारवादी नीतिको विरोधमा दृढ अडान राख्ने नेमकिपाले नेपालको भूमि अतिक्रमणको निरन्तर विरोध गर्दै आएको छ। २०३६–३७ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन, २०५९ सालपछि सुरु भएको प्रतिगमनविरोधी आन्दोलन र २०६२–६३ को जनआन्दोलनमा पनि पार्टीको सक्रिय भूमिका रहेको बताइन्छ।
राजनीतिक प्रणालीका सन्दर्भमा नेमकिपाले बलियो प्रतिपक्षसहितको राष्ट्रपतीय प्रणालीलाई नेपालको राजनीतिक स्थायित्वका लागि उपयुक्त मान्दै आएको छ। साथै जातीय, क्षेत्रीय वा धार्मिक आधारमा राज्य पुनःसंरचना गर्न नहुने र भूगोलका आधारमा प्रदेश निर्माण गर्नुपर्ने धारणा पार्टीको रहेको छ।
नयाँ संविधानमा उत्पादनका मुख्य साधनहरूको राष्ट्रियकरण, निःशुल्क शिक्षा र स्वास्थ्य, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, क्रान्तिकारी भूमिसुधार र समाजवादउन्मुख व्यवस्था समावेश हुनुपर्नेमा पार्टीले जोड दिँदै आएको छ।
स्थापनाकालदेखि नै नारायणमान बिजुक्छे नेतृत्वमा रहेको नेमकिपा लामो समयदेखि चुनावमा भाग लिँदै आएको भए पनि यसको प्रभाव मुख्यतः भक्तपुर क्षेत्रमा केन्द्रित देखिन्छ। २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा नेमकिपाले चार सिट जितेको थियो।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भक्तपुरबाट नारायणमान बिजुक्छे र सुनिल प्रजापतिले विजय हासिल गरेका थिए। तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने भक्तपुर–१ बाट बिजुक्छे मात्र विजयी भएका थिए।