दैनिक १४ हजार हाराहारी यात्रु ओहोरदोहोर, उडान संख्या पनि वृद्धि
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको चाप उल्लेख्य रूपमा बढेको छ। विमानस्थल कार्यालयका अनुसार आगामी बिहीबार हुने निर्वाचनलाई लक्षित गर्दै काठमाडौँबाट बाहिरिने यात्रुको संख्या भित्रिनेभन्दा बढी देखिएको छ।
विमानस्थलका अनुसार पछिल्लो समय आन्तरिक उडानतर्फ दैनिक करिब १४ हजार यात्रुले काठमाडौँबाट विभिन्न गन्तव्यमा ओहोरदोहोर गर्दै आएका छन्। हाल दैनिक झन्डै १३० उडानमार्फत यात्रु भरिभराउ रूपमा बाहिरिने गरेका छन्।
“निर्वाचन नजिकिँदै जाँदा आन्तरिक उडान प्रयोग गर्ने यात्रुको चाप बढ्दो छ,” विमानस्थलले भन्यो, “मौसमका कारण केही ढिलाइ भए पनि यात्रुको मागअनुसार उडान संख्या थपिँदै गएको छ।”
मतदानका दिन पनि उडान नियमित
विगतका निर्वाचनमा आन्तरिक उडान आंशिक रूपमा प्रभावित हुने गरेको भए पनि यस पटक मतदानका दिनसमेत आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित रहने विमानस्थल कार्यालयले जनाएको छ। फागुन २१ गतेका लागि टिकट लिएका यात्रुले ढुक्कसँग यात्रा गर्न सक्ने जानकारी दिइएको छ।
दसैँ–तिहारझैँ वायुसेवा कम्पनीको व्यापार
निर्वाचनका लागि मतदाता गन्तव्यतर्फ जान थालेसँगै वायुसेवा कम्पनीहरूको व्यापार पनि दसैँ–तिहार जस्तै बढेको छ।
विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार:
-
फागुन ११ गते २३६ उडानबाट १४,२८१ यात्रु ओहोरदोहोर गरे। जसमध्ये ७,२१८ बाहिरिए भने ७,०६३ भित्रिए।
-
फागुन १२ गते २३९ उडानबाट १२,७३४ यात्रु आवतजावत गरे। ६,८९९ बाहिरिए भने ५,८३५ भित्रिए।
-
फागुन १३ गते २४९ उडानबाट १४,४६५ यात्रुले यात्रा गरे। ७,५४१ बाहिरिए भने ६,९२४ भित्रिए।
-
फागुन १४ गते २४३ उडानबाट १३,४२४ यात्रु ओहोरदोहोर गरे। ७,२४४ बाहिरिए भने ६,१८० भित्रिएका छन्।
अझै बढ्ने अनुमान
विमानस्थल कार्यालयका अनुसार निर्वाचनअघि तीन दिन र निर्वाचनपछिका दुई दिन हवाई उडानमा अत्यधिक चाप हुने देखिएको छ। यात्रुको बढ्दो भीड व्यवस्थापन गर्न आवश्यक तयारी गरिएको कार्यालयले जनाएको छ।