२०८३ साउन १० आइतबार

डाँफे जल पानीको गुणस्तरमा समस्या, हेल्थ केयरलाई २ लाख १ हजार रुपैयाँ जरिबाना जरिबाना

ई आर्थिक    शनिबार, फाल्गुन ९ २०८२
1.9K
Shares
डाँफे जल पानीको गुणस्तरमा समस्या, हेल्थ केयरलाई २ लाख १ हजार रुपैयाँ जरिबाना जरिबाना

काठमाडौँ। ललितपुरको गोदावरी नगरपालिका–४ स्थित डाँफे जल उद्योगले उत्पादन गर्ने प्रशोधित पिउने पानीको गुणस्तरमा गम्भीर समस्या भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताबाट आएका अनेक गुनासोपछि गरेको अनुगमनमा उद्योगले पुराना, कुच्चिएका तथा थोत्रा जारमा पानी भरेर बजार पठाउने गरेको फेला पारेको हो।

विभागका अनुसार प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ बमोजिम अनिवार्य रूपमा राख्नुपर्ने सिआइपी रेकर्ड, तालिका तथा एसओपीसम्बन्धी अभिलेख उद्योगमा उपलब्ध थिएनन्। साथै श्रमिकहरूले हेयर नेट र ग्लोब्स नलगाई काम गरेको, गहना, नेल पोलिस र चुरा लगाएको जस्ता व्यक्तिगत सरसफाइमा लापरबाहीसमेत भेटिएको जनाइएको छ।

अनुगमनका क्रममा विभागले तत्कालै छ वटा पुराना तथा अनुपयुक्त जार नष्ट गरेको छ भने भविष्यमा त्यस्ता जार प्रयोग नगर्न कडा निर्देशन दिएको छ। प्रयोगशाला परीक्षणका लागि पानीका नमुना पनि सङ्कलन गरिएको छ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै मापदण्डअनुसार उत्पादन प्रक्रिया सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभयो।

‘शुभम् हेल्थकेयर’लाई २ लाख १ हजार रुपैयाँ जरिबाना

यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले वीरगन्ज महानगरपालिकास्थित शुभम् हेल्थकेयरलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरेको छ। दर्ता नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको पाइएपछि सो रकम जरिबाना गरिएको विभागले जनाएको छ।

उपभोक्ता संरक्षण ऐनविपरीत कार्य गर्ने व्यवसायप्रति कडा निगरानी जारी रहने विभागले स्पष्ट पारेको छ। टोलीले वीरगन्ज र भक्तपुर क्षेत्रका पाँच वटा व्यापारिक फर्मको अनुगमन गरेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij