सुदूरपश्चिमलाई ‘सुनजस्तै पश्चिम’ बनाउने लक्ष्यसहित रास्वपा अघि बढेको उनको भनाइ थियो।
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशका जनतालाई कामको सूची दिन आग्रह गरेका छन्।
बुधबार धनगढीमा आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी भोटभन्दा पनि काम माग्न आएको बताए।
“तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ,” शाहले भने, “त्यसैले आज भोट होइन, कामको सूची दिनुहोस्। हामी काम गरेर देखाउँछौं।”
उनले पार्टीका उम्मेदवारहरूलाई स्पष्ट कामको एजेन्डा दिन मतदातासँग आग्रह गरे। सुदूरपश्चिमलाई ‘सुनजस्तै पश्चिम’ बनाउने लक्ष्यसहित रास्वपा अघि बढेको उनको भनाइ थियो। देश बनेको सपना आफूले देखेको उल्लेख गर्दै उनले त्यो सपना पूरा गर्ने दाबी गरे।
शाहले विपन्न र गरिब नागरिकले सहज रूपमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्ने, वर्षौंसम्म अल्झिने विकास आयोजना छोटो समयमा सम्पन्न हुनुपर्ने आफ्नो पार्टीको प्राथमिकता रहेको बताए।
रास्वपा सरकारमा पुगेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) तथा आम जनतालाई समेट्ने साझा बाटो निर्माण गर्ने उनले दाबी गरे।