ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसँग जोड्ने सडक निर्माणमा गत केही महिनादेखि गति आएको छ। लामो समय रोकिएको सडक निर्माण कार्य गत मङ्सिरदेखि तीव्र रुपमा अघि बढ्न थालेको छ।
सडक निर्माण बुर्तिबाङ बजारदेखि ढोरपाटन देउरालीसम्मको २५ किलोमिटर क्षेत्रमा दुई खण्डमा भइरहेको छ। रूपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोड्ने सडक २०७८ सालमा निर्माण थालिएको थियो र यसले तराई–पहाड जोड्ने महत्वपूर्ण मार्गको काम गर्दै आएको छ।
पहिलो खण्ड बुर्तिबाङ–फल्लेघर २२ किलोमिटर ग्राभेल हुँदैछ भने दोस्रो खण्ड फल्लेघर–देउराली कालोपत्रको तयारीमा छ। पहिलो खण्ड २०८० वैशाखसम्म सक्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलका अनुसार, पहिलो खण्ड चार वर्षअघि स्वच्छन्द र ओम/बुद्ध जेबीले जिम्मा पाएका थिए। समयमै काम नहुने कारण चार पटक म्याद थप गरिएको थियो।
अहिले सडक फराकिलो बनाउने, कल्भर्ट निर्माण तथा अन्य तयारी कार्य धमाधम भइरहेको छ। पहिलो खण्डको निर्माणमा कुल लागत २५ करोड ६१ लाख रुपैयाँ रहेको छ।
दोस्रो खण्ड कालोपत्रको कामको लागि पिटीआर अधिकारी कन्स्ट्रक्सनसँग रु १६ करोड ४८ लाखमा सम्झौता भएको छ। काम अहिले तीव्र रूपमा भइरहेको छ र आगामी २०८४ असारसम्म सक्ने लक्ष्य राखिएको छ। हालसम्म दोस्रो खण्डको काम १२ प्रतिशत मात्र सम्पन्न भएको छ।
सडक परियोजनाले रूपन्देहीदेखि अर्घाखाँचीको सन्धिखर्क, गुल्मी र पाल्पा हुँदै ढोरपाटनसँग द्रुत आवागमनको सुविधा उपलब्ध गराउने अपेक्षा राखिएको छ।