२०८३ साउन ९ शनिबार

नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशतले घट्यो, आयमा सामान्य सुधार

ई आर्थिक    शुक्रबार, फाल्गुन १ २०८२
2.6K
Shares
नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशतले घट्यो, आयमा सामान्य सुधार

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपाल टेलिकमको खुद मुनाफामा उल्लेख्य गिरावट आएको छ भने सञ्चालन आयमा सामान्य वृद्धि देखिएको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार दोस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ करोड ४८ लाख ०५ हजार रुपैयाँ (१.७३ प्रतिशत) ले बढी हो।

यद्यपि कुल आय भने १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९ करोड २० लाख रुपैयाँ (१.५ प्रतिशत) ले कम हो।

यस अवधिमा कम्पनीको EBITDA ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा २.६० प्रतिशतले कम हो। कर अघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ कायम भएको छ भने खुद मुनाफा ४ अर्ब १६ करोड ४५ लाख ०९ हजार रुपैयाँमा झरेको छ। खुद मुनाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६२ करोड १४ लाख १५ हजार रुपैयाँ (१२.९८ प्रतिशत) ले घटेको हो।

कम्पनीको वार्षिकीकृत प्रति शेयर आम्दानी (EPS) ४६.२७ रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा करिब ६.१४ प्रतिशतले कमी आएको छ। साथै भ्वाइस तथा एसएमएस सेवाको आयमा पनि नकारात्मक असर परेको जनाएको छ।

त्यसैगरी लगानीको मूल्यमा आएको परिवर्तन तथा ब्याजदर घटेका कारण व्याज आय ३२ प्रतिशतले घटेको छ। विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारमा बढ्दो लागत, दररेटसम्बन्धी नीतिगत परिवर्तनका कारण शुल्क कटौती, कर्मचारी बीमा तथा पेन्सन दायित्वसम्बन्धी खर्च वृद्धि, जिन्सी मौज्दातमा इम्पेयरमेन्ट खर्च बढ्नु तथा चालु करमा ५५.५६ प्रतिशत वृद्धि हुनु पनि नाफा घट्नुका कारणका रूपमा उल्लेख गरिएको छ।

समग्रमा, सञ्चालन आयमा सामान्य सुधार देखिए पनि बढ्दो खर्च र घट्दो अन्य आयका कारण कम्पनीको नाफामा दबाब परेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij