ई–आर्थिक, काठमाडौं । नियमित समयभन्दा दुई वर्षअघि फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बदलिँदो राजनीतिक परिस्थितिको महत्त्वपूर्ण जनमत परीक्षणका रूपमा हेरिएको छ। गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’पछिको राजनीतिक उतार–चढावबीच हुन लागेको यस चुनावमा पुराना दलका शीर्ष नेताहरू र नयाँ तथा उदयीमान नेताबीच कडा प्रतिस्पर्धा देखिन थालेको छ।
झापा–५, सर्लाही–४, रौतहट–१, चितवन–२ र रुकुम पूर्वमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलबीच मुख्य र रोचक भिडन्त हुने संकेत देखिएको छ। धेरै दल र स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएकाले मत विभाजन हुने सम्भावना बढेको विश्लेषण छ।
पुराना ठूला दलहरू संगठनात्मक शक्तिको भरमा घरदैलो अभियानमा छन्। कांग्रेसले स्थिरता र लोकतान्त्रिक मूल्य, एमालेले राष्ट्रियता र विकास, नेकपाले सामाजिक न्याय र समावेशी विकासलाई मुख्य एजेन्डा बनाएका छन्। रास्वपा र नयाँ दलहरूले भने पुराना दलका नेतामाथि आलोचना गर्दै जनआक्रोशलाई मतमा बदल्ने रणनीति अपनाएका छन्।
प्रारम्भिक प्रचारका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसहित केही स्वतन्त्र उम्मेदवारप्रति मतदाताको आकर्षण देखिएको छ। यसलाई कतिपयले २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले पाएको उभारसँग तुलना गरेका छन्। यसपटक पनि कुनै एक दलले बहुमत ल्याउने सम्भावना कमजोर देखिएकाले संयुक्त सरकार बन्ने अनुमान गर्न थालिएको छ।
झापा–५: ओली दबाबमा
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि चुनाव लड्दै आएको झापा–५ मा यसपटक रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसँग प्रतिस्पर्धामा छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर साह झापा पुगेपछि चुनावी माहोल तातेको छ। ओलीले यसअघि संविधानसभा निर्वाचन २०६४ बाहेक सबै चुनाव जितेका छन्। तर यसपटक एमालेभित्रको आन्तरिक असन्तुष्टि र साहप्रतिको युवा आकर्षणले ओलीलाई दबाबमा पारेको देखिन्छ।
सर्लाही–४: थापालाई अमरेश सिंहको चुनौती
कांग्रेस सभापति गगनकुमार थापा काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। कांग्रेसको प्रभाव क्षेत्र मानिने यस क्षेत्रमा रास्वपाबाट उम्मेदवार बनेका अमरेशकुमार सिंह थापाका मुख्य प्रतिस्पर्धी हुन्। सिंहले अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा जित निकालेका थिए। पार्टी नेतृत्व र भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका थापालाई पार्टीभित्रको व्यवस्थापन र स्थानीय चुनौती दुवै सम्हाल्नुपर्ने देखिन्छ।
रुकुम पूर्व: दाहालविरुद्ध सहिदपुत्र
नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्। उनीविरुद्ध ‘माओवादी जनयुद्ध’का सहिदपुत्र सन्दीप पुन मैदानमा छन्। एमालेको समर्थनसमेत पाएका पुन दाहालका लागि चुनौती बनेका छन्। माओवादीको आधार क्षेत्र मानिने रुकुम पूर्वमा यसपटकको प्रतिस्पर्धा अघिल्ला चुनावभन्दा कडा हुने आँकलन छ।
रौतहट–१: दोहोरिएलान् माधव नेपाल?
नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट–१ बाट पुनः उम्मेदवार छन्। एमालेका अजयकुमार गुप्ता र कांग्रेसका अनिल झा उनका मुख्य प्रतिस्पर्धी हुन्। अघिल्लो निर्वाचनमा गठबन्धनको समर्थनमा जितेका नेपाललाई यसपटक त्रिपक्षीय प्रतिस्पर्धामा मत जोगाउनु चुनौतीपूर्ण देखिन्छ।
चितवन–२: प्रश्नको घेरामा लामिछाने
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार छन्। सहकारी ठगीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनी आलोचनाको घेरामा छन्। कांग्रेस, एमाले र नेकपाले नयाँ अनुहारलाई उम्मेदवार बनाए पनि अघिल्ला निर्वाचनको मतान्तरका आधारमा चितवन–२ लाई लामिछानेका लागि अझै सुरक्षित क्षेत्र मानिएको छ।
समग्रमा, फागुन २१ को निर्वाचन पुराना शक्ति र नयाँ विकल्पबीचको निर्णायक भिडन्तका रूपमा देखिएको छ। मतदाताको निर्णयले आगामी राजनीतिक दिशा मात्र होइन, नेतृत्वको स्वरूपसमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ।