कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले गहिरो निराशा र अविश्वासको अवस्थामा फसेको उल्लेख गर्दै यस्तो परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्ने जिम्मेवार राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।
कांग्रेस कास्कीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सभापति थापाले समाजमा बढ्दो असन्तोष र आक्रोशलाई उत्तेजनाबाट होइन, धैर्य र विवेकबाट सम्बोधन गर्नुपर्ने बताए । उनका अनुसार वर्तमान अवस्थाबाट देशलाई बाहिर निकाल्न चेतनामा आधारित राजनीति अपरिहार्य भएको छ, जसको नेतृत्व कांग्रेसले गर्नुपर्ने जिम्मेवारी बोकेको छ ।
समाजमा नागरिकहरूबीच गहिरो असन्तुष्टि फैलिएको र राज्यका विभिन्न संयन्त्रहरूप्रति विश्वास कमजोर बन्दै गएको थापाको भनाइ छ । यस्तो संवेदनशील घडीमा गैरजिम्मेवार अभिव्यक्तिभन्दा पनि देशको भविष्य सोच्ने परिपक्व राजनीतिक शक्तिको भूमिका आवश्यक रहेको उनले जोड दिए ।
“आगो बाल्न सजिलो हुन्छ, निभाउन धैर्यता र क्षमता चाहिन्छ,” थापाले भने, “उत्तेजना फैलाउने काम धेरैले गर्न सक्छन्, तर चेतनाको राजनीति गर्ने र देश सम्हाल्ने तागत कांग्रेससँग छ । हामी मिलाउँछौँ, हामी सम्हाल्छौँ ।”
उनले अहिले नागरिकहरूमा राज्य, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति समेत गहिरो अविश्वास देखिन थालेको उल्लेख गर्दै यसले देशकै आत्मविश्वास कमजोर बनाइरहेको बताए । समाज बाहिर शान्त देखिए पनि भित्रभित्रै असन्तोषको आगो बलिरहेको उनको भनाइ थियो ।
थापाका अनुसार मुलुकमा देखिएको निराशाको मूल कारण भ्रष्टाचार हो । “आज नागरिकलाई सबैभन्दा ठूलो शत्रु को हो भनेर सोध्दा उत्तर आउँछ— भ्रष्टाचार,” उनले भने, “भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पसहित नेपाली कांग्रेस नयाँ रूप लिएर अघि बढेको छ ।”
उनले विगतमा देशलाई हिंसाको चक्रबाट बाहिर ल्याउन सफल भएको कांग्रेसले अब भ्रष्टाचारको दलदलबाट पनि मुलुकलाई मुक्त गर्ने दाबी गरे । साथै, आगामी दिनमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले घरदैलोमा जाँदा ‘कांग्रेसले देश सम्हाल्छ र सुधार गर्छ’ भन्ने स्पष्ट सन्देश लिएर जान आग्रह गरे ।